विराटनगर । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन सुरु भएको छ ।
आइतबार राति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको दरअनुसार दस्तुर तिरेर मात्र आवतजावत गर्नुपर्ने व्यवस्था गरिएको हो ।
निर्धारित दरअनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
त्यस्तै, ठूला सवारीसाधनले सुरुङमार्ग प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ ।
सुरुवाती चरणमा नगद तथा क्यूआर प्रणालीमार्फत दस्तुर भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
आगामी दिनमा आरएफआईडी कार्ड तथा ट्याग प्रणाली लागू गरी स्वचालित रूपमा दस्तुर भुक्तानी गर्ने तयारी भइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालले बताए ।