जेनजी अभियन्ता अजय सोडारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेका छन्। भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा वाग्लेले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सोडारीले यस्तो माग गरेका हुन्।
अक्टोबर २३ मा आयोजित उक्त कार्यक्रममा वाग्लेले ‘भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने समय सकिएको’ भन्ने अभिव्यक्ति दिएको भन्दै सोडारीले त्यसलाई नेपालको राष्ट्रिय हित, स्वाभिमान र सार्वभौमसत्ताविपरीत भएको आरोप लगाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री वालेन्द्र शाहलाई सम्बोधन गर्दै बुझाइएको पत्रमा उनले अर्थमन्त्रीको अभिव्यक्तिबारे आपत्ति जनाउँदै तत्काल पदबाट हटाउन माग गरेका हुन्।
सोडारीले नेपाल–भारतबीच विगतमा भएका असमान सन्धि–सम्झौताको पुनरावलोकन, अतिक्रमित भूमि फिर्ता, पारवहन सहजता, व्यापार घाटा, नदी तथा जलस्रोतमा हस्तक्षेप र सीमावर्ती क्षेत्रमा हुने डुबानजस्ता विषयमा नेपालको पक्षमा आवाज उठाउनु भारतविरोध नभई राष्ट्रिय हितको विषय भएको बताएका छन्।
नेपालको राष्ट्रवादलाई भारतविरोधी भावनासँग मात्र जोडेर व्याख्या गर्नु गलत भएको उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध सम्मान, पारस्परिकता र आत्मीयतामा आधारित हुनुपर्ने बताएका छन्।
‘राष्ट्रिय हित र सार्वभौमसत्ता नै धरापमा पारेर आत्मसमर्पण गर्न सकिँदैन,’ सोडारीले पत्रमा उल्लेख गरेका छन्।
बहालवाला सरकारी पदाधिकारीबाट देशको हितविपरीत अभिव्यक्ति आउने गरेको उनको आरोप छ। राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको रक्षा गर्न अर्थमन्त्री वाग्लेलाई तत्काल पदबाट बर्खास्त गर्न उनले सरकारसँग माग गरेका छन्।
