नेपालले थप ६ वटा हिमाललाई आठ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल थालेको छ। यसका लागि काठमाडौंमा जारी अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को महासभामा नेपालले आफ्नो प्रस्ताव प्रस्तुत गरेको हो।
नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर्वा गेल्जे शेर्पाले महासभाको उद्घाटन सत्रमा ती हिमालको विवरणसहित अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन्। प्रतिवेदनमा ती हिमाललाई छुट्टाछुट्टै आठ हजार मिटरभन्दा अग्ला चुचुराका रूपमा मान्यता दिनुपर्ने आधारसमेत प्रस्तुत गरिएको छ।
प्रस्ताव गरिएका हिमालमा यालुङ काङ (८ हजार ५०५ मिटर), कञ्चनजङ्घा दक्षिण (८ हजार ४७६ मिटर), कञ्चनजङ्घा मध्य (८ हजार ४७३ मिटर), ल्होत्से मध्य (८ हजार ४१० मिटर), ल्होत्से शार (८ हजार ४०० मिटर) र यालुङ काङ पश्चिम (८ हजार ७७ मिटर) रहेका छन्।
एनएमएले यी हिमालको भौगोलिक पहिचान र उचाइ अध्ययन गर्न छुट्टै टोली गठन गरेको थियो। टोलीले प्रत्येक हिमालका अलग चुचुरा, भौगोलिक बनावट र छुट्टाछुट्टै आरोहण मार्ग रहेको प्रमाण संकलन गरेको अध्यक्ष शेर्पाले बताएका छन्।
नेपालको प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाएमा नेपालमा आठ हजार मिटरभन्दा अग्ला मान्यताप्राप्त हिमालको संख्या ८ बाट बढेर १४ पुग्नेछ। त्यस्तै, विश्वभर यस्ता हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ।
महासभालाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विश्वका २० अग्ला हिमालमध्ये १४ वटा नेपालमा रहेको पहिचान स्थापित हुनु देशका लागि ठूलो उपलब्धि हुने बताएका छन्।
उनका अनुसार यसले नेपाललाई विश्व पर्वतारोहणको प्रमुख गन्तव्यका रूपमा थप चिनाउनुका साथै साहसिक पर्यटन, अनुसन्धान र हिमाली अर्थतन्त्र विस्तारका नयाँ अवसर सिर्जना गर्नेछ। नेपालको प्रस्ताव हिमालको संख्या बढाउने विषयमा मात्र सीमित नभई वैज्ञानिक अध्ययनका आधारमा मुलुकको प्राकृतिक सम्पदा र हिमाली पहिचान स्थापित गर्ने प्रयास भएको उनको भनाइ छ।
दुई दिनसम्म चल्ने महासभामा ४५ देशका ९५ जना प्रतिनिधि सहभागी छन्। यसअघि नेपालमा सन् १९८२ र २०११ मा पनि यूआईएएको महासभा आयोजना भएको थियो।