काठमाडौंमा अमेरिकी डलर सस्तो मूल्यमा साटिदिने भन्दै पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ धार्पा घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेल बस्ने २९ वर्षीय सुमन भन्ने मोहनबहादुर तामाङ रहेका छन्। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार गत चैत २३ गते गोकर्णेश्वर नगरपालिका–४ को एकान्त स्थानमा पीडितलाई बोलाएर अमेरिकी डलर सस्तो दरमा साटिदिने प्रलोभन देखाइएको थियो। सोही क्रममा पाँच लाख रुपैयाँ ठगी गरी तामाङ फरार भएका थिए।
घटनाबारे अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई भक्तपुरको सरस्वतीखेलबाट नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानमा तामाङ र उनका साथीहरू मिलेर काठमाडौं उपत्यकासहित बाहिरका विभिन्न स्थानमा पनि यस्तै गतिविधिमा संलग्न हुने गरेको खुलेको प्रहरीले जनाएको छ। उनीहरूले सस्तोमा अमेरिकी डलर साटिदिने भन्दै मानिसलाई एकान्त स्थानमा बोलाएर ठगी तथा लुटपाट गर्ने गरेको पाइएको छ।
पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।