विराटनगर। बाढीपहिरोले क्षति पुर्याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अस्थायी मर्मतपछि सञ्चालनमा आएका छन्। सडक सञ्चालनमा आएपछि दसैँ मनाउन घर फर्किने यात्रुलाई सहज भएको छ।
असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले जिल्लाका विभिन्न सडकमा ठूलो क्षति पुर्याएको थियो। मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडकसहित प्रदेश तथा ग्रामीण सडक अवरुद्ध भएका थिए।
सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीका अनुसार मालढुङ्गा पुलको पहुँचमार्ग, बागलुङ–बेनी सडक तथा मध्यपहाडी लोकमार्गको गलकोट र निसीखोला खण्ड मर्मतपछि सञ्चालनमा आएका छन्। मालढुङ्गा पुलको पहुँचमार्ग १५ दिनपछि र गलकोट–ताराखोला सडक १७ दिनपछि सञ्चालनमा आएको हो।
बाढीपहिरोबाट सडक डिभिजन कार्यालयअन्तर्गतका राष्ट्रिय तथा सहायक राजमार्गमा करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, प्रदेश सरकारअन्तर्गतका सडकमा करिब २० करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ। यसरी जिल्लाका सडकमा कुल क्षति करिब ५० करोड रुपैयाँ पुगेको छ।
मध्यपहाडी लोकमार्गको निसीखोलास्थित कानाबगर र झिवाखोला क्षेत्रमा करिब ४०० मिटर सडक बगाएको थियो। ती स्थानमा डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको छ। गलकोट–हरिचौर–ताराखोला सडकमा पनि पहिरो र खोलाको कटानले क्षति पुर्याएपछि माटो भरेर अस्थायी रूपमा यातायात खुलाइएको छ।
अस्थायी मर्मतबाट सडक सञ्चालनमा आए पनि स्थायी पुनर्निर्माणको काम भने बाँकी छ। क्षतिग्रस्त सडकको दीर्घकालीन पुनर्निर्माणका लागि एक अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।