स्थानीय राजनीतिमा आफ्नो पकड बनाउँदै दुहबी नगरपालिकाको प्रमुखका रूपमा दुई कार्यकाल नेतृत्व गरेका वेदनारायण (वेद) गच्छदार नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशनबाट थारू क्लस्टरतर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उनको राजनीतिक यात्रा राष्ट्रिय तहसम्म विस्तार भएको छ।
सुनसरीको दुहबी निवासी ५२ वर्षीय गच्छदारले केन्द्रीय सदस्यमा निर्वाचित हुन २ हजार १०९ मत प्राप्त गरेका छन्। थारू क्लस्टरतर्फ डा. भोगेन्द्रप्रसाद चौधरी २ हजार २९९ मतसहित पहिलो र जनकराज चौधरी २ हजार ६० मतसहित तेस्रो स्थानमा रहँदा गच्छदार दोस्रो भएका हुन्।
थारू समुदायबाट राष्ट्रिय राजनीतिमा प्रभावशाली नेतृत्व स्थापित गर्ने अपेक्षाबीच गच्छदारको केन्द्रीय सदस्यमा भएको विजयलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी सुनसरीमा थारू समुदायको राजनीतिक प्रतिनिधित्व र कांग्रेसभित्र नयाँ नेतृत्वको सम्भावनाका दृष्टिले उनको उदयलाई महत्त्वका साथ हेरिएको हो।
कांग्रेसको क्रियाशील सदस्यदेखि केन्द्रीय सदस्यसम्म
गच्छदारको राजनीतिक यात्रा लामो छ। उनी २०५२ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्य बनेका थिए। पार्टी संगठनमा सक्रिय रहँदै आएका उनी २०७४ सालको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मधेसी जनअधिकार लोकतान्त्रिक पार्टीमा आबद्ध भए।
त्यसपछि उक्त पार्टीबाट उम्मेदवार बनेर उनी पहिलोपटक दुहबी नगरपालिकाको प्रमुखमा निर्वाचित भए। स्थानीय तहको नेतृत्वमा पुगेपछि उनले नगरको राजनीतिमा आफ्नो पहिचान स्थापित गरे।
२०७८ सालमा कांग्रेसमा फर्किएका गच्छदारले पार्टीमा पुनः प्रवेश गरेलगत्तै नगर सभापतिको जिम्मेवारी पाए। त्यसको अर्को वर्ष भएको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट मेयरको टिकट पाएपछि उनी पुनः चुनावी मैदानमा उत्रिए।
२०७९ सालको निर्वाचनमा नेकपा एमालेका विनयकुमार पोखरेललाई पराजित गर्दै उनी दोस्रो कार्यकालका लागि दुहबी नगरपालिकाको प्रमुखमा निर्वाचित भए। यससँगै स्थानीय राजनीतिमा उनको प्रभाव थप स्थापित भयो।
प्रतिनिधिसभा निर्वाचनमा पछि हट्नुपरेको थियो
गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनका क्रममा पनि गच्छदारको नाम चर्चामा आएको थियो। नेपाली कांग्रेसले सुरुमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
तर, अन्तिम समयमा उनका काका तथा कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदारले स्वयं उम्मेदवार बन्ने अडान लिएपछि वेद गच्छदार चुनावी प्रतिस्पर्धाबाट पछि हटेका थिए।
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने अवसर गुमाएका गच्छदारले अहिले पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएर राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति स्थापित गरेका छन्।
थारू समुदायको नेतृत्वका लागि नयाँ अवसर
सुनसरीको राजनीतिमा लामो समयदेखि प्रभाव राख्दै आएका विजयकुमार गच्छदारको राजनीतिक प्रभाव र पछिल्लो समय कांग्रेसभित्र विकसित समीकरणका बीच वेद गच्छदारको केन्द्रीय सदस्यमा भएको विजयलाई नयाँ सम्भावनाका रूपमा हेरिएको छ।
विशेषगरी पार्टीभित्र गगन थापा पक्षको प्रभाव बढेको राजनीतिक परिवेशमा थारू क्लस्टरतर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनु उनका लागि संगठनात्मक जिम्मेवारी विस्तार गर्ने अवसर बनेको छ।
अब गच्छदारसामु स्थानीय तहमा हासिल गरेको राजनीतिक अनुभवलाई राष्ट्रिय राजनीतिमा उपयोग गर्ने, कांग्रेसको संगठन सुदृढीकरणमा योगदान पुर्याउने र थारू समुदायका मुद्दालाई पार्टीको नीति तथा निर्णय प्रक्रियामा प्रभावकारी रूपमा उठाउने चुनौती र अवसर दुवै छन्।
दुहबीको नगर नेतृत्वबाट कांग्रेसको केन्द्रीय समितिसम्म पुगेका गच्छदारले अब पार्टीभित्र कस्तो भूमिका निर्वाह गर्छन् र आफ्नो राजनीतिक प्रभावलाई कुन दिशामा अघि बढाउँछन् भन्ने चासो बढेको छ।