विराटनगर । दशैं, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर ५० हजार ४५८ जना प्रहरी परिचालन गरी विशेष सुरक्षा योजना लागू गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार कोशी प्रदेशमा मात्रै ८ हजार १३३ जना प्रहरी परिचालन गरिनेछ।
चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, जुवातास, अनलाइन ठगी तथा सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।
सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन सीसीटीभी, बडीवर्न क्यामेरा, ड्रोन र तालिमप्राप्त कुकुर परिचालन गरिनेछ।
साथै, सामाजिक सञ्जालको निगरानी र सूचना विश्लेषणमार्फत सम्भावित सुरक्षा चुनौती नियन्त्रण गरिने प्रहरीले जनाएको छ।