विराटनगर । नेपाल एलपी ग्यास उद्योग सङ्घले काठमाडौं उपत्यकामा एलपी ग्यासको वितरण प्रणालीलाई पुनः नियमित बनाएको छ।
सङ्घले उपभोक्तालाई अब आफ्नो नजिकको आधिकारिक डिलरमार्फत नै ग्यास खरिद गर्न आग्रह गरेको छ।
चाडपर्वका समयमा उपभोक्ताले ग्यास खरिद गर्न भोग्नुपरेको कठिनाइ तथा एउटा ब्रान्डको सिलिण्डर अर्को ब्रान्डसँग साट्न नपाएको गुनासोलाई सम्बोधन गर्न सङ्घले केही दिनका लागि विभिन्न ब्रान्डका ग्यास सिलिण्डर संयुक्त रूपमा बिक्री वितरण गर्ने व्यवस्था गरेको थियो।
उक्त व्यवस्था असोज २५ गतेदेखि असोज ३० गतेसम्म लागू गर्ने भनिए पनि नियमित वितरण प्रणालीमा फर्किनुपर्ने भएकाले असोज २८ गते बुधबारसम्म मात्र कायम रहने सङ्घले जनाएको छ।
बिहीबार र शुक्रबारदेखि डिलरमार्फत नियमित रूपमा ग्यास आपूर्ति गर्नुपर्ने भएकाले संयुक्त बिक्री वितरणको व्यवस्था हटाइएको हो।
सङ्घले विशेष व्यवस्थाका कारण उपभोक्तालाई परेको असुविधाप्रति क्षमायाचना गर्दै आफ्नो नजिकको आधिकारिक डिलरमा गई नियमित प्रक्रियाअनुसार ग्यास खरिद गर्न आम उपभोक्ता तथा सरोकारवालालाई अनुरोध गरेको छ।