विराटनगर । बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो वा चट्टानी पहिरो हुन सक्ने सरकारको प्रारम्भिक निष्कर्ष छ।
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको स्थिति प्रतिवेदनअनुसार अक्टोबर १० मा माथिल्लो क्षेत्रमा व्यापक हिमपात भएको र त्यही क्षेत्रबाट ठूलो हिमपहिरो वा चट्टानी पहिरो सुरु भएको देखिएको छ।
केन्द्रको भौगोलिक तथा भौगर्भिक विश्लेषणअनुसार अक्टोबर ६ को स्याटेलाइट तस्बिरमा बाढीको उद्गम क्षेत्रमा हल्का हिउँ र चट्टानी ढलान देखिएको थियो।
तर, अक्टोबर १० को तस्बिरमा माथिल्लो हिमशिखरबाट ठाडो खोँच हुँदै तलतिर गाढा रेखाजस्तो बहाव देखिएको छ।केन्द्रका अनुसार उक्त बहावले बाटोमा रहेका वनस्पति र माटो बगाएर लगेको संकेत देखिन्छ।
हिमपहिरो वा लेदोको तीव्र बहाव चुम्लिङ र रिप्चेत नजिकै बूढीगण्डकी नदीको दोभानमा पुगेर थुप्रिएको प्रतिवेदनमा उल्लेख छ।