विराटनगर । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आगामी कात्तिक १८ र १९ गते काठमाडौंमा हुने भएको छ।
अधिवेशनमा विश्वका विभिन्न देशबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ।
‘श्रमिक अधिकार, वंशजको नागरिकताको सुनिश्चितता–समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित आयोजना हुने अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ। अधिवेशनले आगामी चार वर्षका लागि मञ्चको नयाँ नेतृत्वसमेत चयन गर्नेछ।
विश्वभर छरिएर रहेका नेपालीलाई संगठित गर्दै उनीहरूको हकहित, अधिकार र पहिचान संरक्षण गर्नुका साथै नेपालको आर्थिक, सामाजिक तथा राष्ट्रिय समृद्धिमा योगदान पुर्याउने उद्देश्यले मञ्च क्रियाशील रहेको छ।
मञ्चका अनुसार हाल विश्वका ३९ देशमा राष्ट्रिय कमिटी गठन भएका छन् भने ६० भन्दा बढी देशमा सम्पर्क सञ्जाल विस्तार भएको छ। संगठनमा दशौं हजार नेपाली आबद्ध रहेको मञ्चले जनाएको छ।
अधिवेशनमा प्रवासमा रहेका नेपाली श्रमिकका अधिकार, वंशजको नागरिकताको निरन्तरता तथा संवैधानिक र राजनीतिक अधिकारका विषयमा छलफल हुनेछ। गैरआवासीय नेपाली संघ लगायत विभिन्न संघसंस्थासँगको सम्बन्ध, सहकार्य र समन्वयलाई पनि अधिवेशनले प्राथमिकतामा राख्नेछ।
त्यसैगरी, विभिन्न देशमा क्रियाशील राष्ट्रिय कमिटीबीच समन्वय र सहकार्य विस्तार गर्दै संगठनलाई थप सुदृढ बनाउने विषयमा छलफल गरिनेछ।
प्रवासमा रहेका नेपालीका साझा समस्या र चुनौती समाधानका लागि एकीकृत पहल अघि बढाउने तथा नेपालको समृद्धिमा प्रवासी नेपालीको योगदानलाई थप प्रभावकारी बनाउने लक्ष्यसमेत अधिवेशनले लिएको मञ्चले जनाएको छ।