कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थानमा विद्यालयको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। मृत्यु हुनेमा चार विद्यार्थी र एक स्थानीय रहेको विवरणबाट खुलेको छ।
कालिका बोर्डिङ स्कुलको बस सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउने क्रममा ओख्लेको भीरबाट करिब दुई सय मिटर तल खसेको थियो। दुर्घटनामा ज्यान गुमाउनेमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी, १५ वर्षीय शुभेच्छा तिवारी र नामथर नखुलेकी १५ वर्षीया किशोरी रहेका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार दुर्घटनामा घाइते भएका १२ जनाको अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये १६ वर्षीया अस्मी कँडेललाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ। घाइते हुनेमा विद्यार्थीका साथै ३१ वर्षीय अर्जुन शाही र ५७ वर्षीय तुलबहादुर गुरुङ पनि छन्।
प्रारम्भिक विवरणअनुसार दुर्घटनाका बेला बसमा १७ जना बालबालिका र एक स्थानीय सवार थिए। दुर्घटनापछि घाइतेहरूलाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो।
बस दुर्घटनाको कारणबारे भने विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।