काठमाडौं । बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माथिबाट अचानक माटोको ढिस्को खस्दा मजदुरहरू पुरिएका हुन्।
सोमबार बिहान करिब ७ः२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेको थियो।
घटनामा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरको गाईघाटका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको छ। उनीहरू दुवै जना माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला परेका थिए।
यस्तै, रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्। उनको उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।