विराटनगर । विराटनगरमा तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भएको भागदौडका क्रममा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
सोमबार राति करिब साढे ११ बजे विराटनगर महानगरपालिका–६, सरोचियास्थित लालु पासवानको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीको गस्ती टोली पुगेपछि भागदौड भएको थियो।
सोही क्रममा पक्राउ परेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीका अनुसार भागदौडका क्रममा सामान्य घाइते भएका कोइरालालाई पक्राउपछि स्वास्थ्य परीक्षण गराइएको थियो। स्वास्थ्य अवस्था सामान्य देखिएपछि उनलाई अन्य पक्राउ परेकासँगै हिरासतमा राखिएको थियो। तर मंगलबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
भागदौडका क्रममा विराटनगर महानगरपालिका–८ का ४१ वर्षीय चन्दन मुखिया दुई तलाबाट हामफालेको अवस्थामा घाइते भएका छन्। उनको दाहिने खुट्टा भाँचिएको र श्री अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरीले उक्त स्थानबाट सोमबार राति आठ जनालाई पक्राउ गरेको थियो।
प्रहरीको गस्ती टोली पुगेपछि तास खेलिरहेका व्यक्तिहरू भाग्न खोज्दा भागदौड भएको र त्यस क्रममा कोइराला सामान्य घाइते भएको प्रवक्ता मिश्रले बताए।
कोइरालासहित सात जनालाई स्वास्थ्य परीक्षणपछि हिरासतमा राखिएको प्रहरीले जनाएको छ। घटनामा कोइरालाको मृत्यु कसरी भयो भन्ने विषयमा थप विवरण भने प्रहरीले अनुसन्धानपछि स्पष्ट गर्ने जनाएको छ।