काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन्।
ईसेवा सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले शर्मालाई असोज १२ गतेदेखि लागू हुने गरी सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। शर्माले आगामी चार वर्षका लागि ईसेवाको नेतृत्व सम्हाल्नेछन्।
बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव रहेका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङका क्षेत्रमा अनुभवी छन्। डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि र ग्राहकमुखी सेवाका क्षेत्रमा समेत उनले काम गरेको ईसेवाले जनाएको छ।
शर्माको नेतृत्वमा कम्पनीको डिजिटल वित्तीय सेवा, ग्राहक सेवा तथा आगामी रणनीतिक योजनालाई थप विस्तार गर्ने अपेक्षा ईसेवा सञ्चालक समितिले गरेको छ।
यसैबीच, ईसेवाका निवर्तमान सीईओ जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा भएको छ। खड्का २०७९ असोज १२ गते ईसेवाको सीईओमा नियुक्त भएका थिए।
खड्काको कार्यकालमा ईसेवाका प्रयोगकर्ता, मर्चेन्ट तथा आधिकारिक प्रतिनिधिको संख्या उल्लेख्य रूपमा बढेको कम्पनीले जनाएको छ। उनको कार्यकालमा ईसेवामा दर्ता भएका प्रयोगकर्ताको संख्या १ करोड ४० लाख तथा मर्चेन्टको संख्या ६ लाखभन्दा बढी पुगेको छ।
खड्काको नेतृत्वमा डिजिटल कर्जा, फाइनान्स ३६०, ईसेवा सर्कल, बिजनेस लिंक, बिजनेस एप, इन्टेन्ट पे, इन्स्योरेन्स तथा विभिन्न लाइफस्टाइल सेवाको विस्तार गरिएको कम्पनीले जनाएको छ।
त्यस्तै, दृष्टिविहीन नागरिकका लागि ‘टकब्याक’ फिचर तथा नेपाली भाषामा एप सञ्चालन गरेर डिजिटल वित्तीय सेवाको पहुँच थप सहज बनाइएको ईसेवाको भनाइ छ।
ईसेवा सञ्चालक समितिले निवर्तमान सीईओ खड्काको कार्यकालमा हासिल भएका उपलब्धिले कम्पनीको आगामी यात्राका लागि बलियो आधार तयार गरेको जनाएको छ।