मनाङ । लगातारको वर्षापछि आएको बाढी र पहिरोले मनाङको चामे गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ। ठाडो खोला र मर्स्याङ्दी नदीमा आएको बाढी बस्तीमा पस्दा ४–५ वटा घर बगाएको स्थानीयले बताएका छन्।
अचानक बाढी बस्तीमा पसेपछि स्थानीयवासी राति नै ज्यान जोगाउन सुरक्षित डाँडातर्फ पुगेका थिए। बाढी र पहिरोका कारण स्थानीय क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको छ।
बाढीले चामेका दुईवटा काठेपुलसहित प्रमुख पुलहरू बगाएपछि आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ। सडक तथा पुलमा क्षति पुगेपछि चामे अन्य क्षेत्रसँगको सडक सम्पर्कबाट समेत विच्छेद भएको छ।
तीन दिनदेखि सञ्चार सम्पर्कसमेत प्रभावित बनेको चामेमा केहीबेरअघि सञ्चार सेवा पुनः सञ्चालनमा आएको स्थानीयले बताएका छन्।सडक र पुल भत्किएपछि चामेमा पुगेका थुप्रै पर्यटकसमेत अलपत्र परेका छन्। लगातारको अवरोधका कारण खाद्यान्न अभाव हुन थालेको स्थानीयको भनाइ छ।
स्थानीयले पर्यटकसँगै बिरामी, बालबालिका तथा वृद्धवृद्धालाई प्राथमिकताका आधारमा तत्काल हेलिकप्टरमार्फत उद्धार गर्न सरकारसँग माग गरेका छन्। प्रभावित क्षेत्रमा थप जोखिम रहेकाले उद्धार तथा राहतका लागि तत्काल आवश्यक पहल गर्न स्थानीयले आग्रह गरेका छन्।