पर्वत । कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतका विभिन्न क्षेत्रमा डुबान तथा क्षति भएको छ। जलजला गाउँपालिका–८ मा मात्रै बाढीले करिब २५ घर बगाएको छ।
पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलका अनुसार बाढीले २५ घर बगाउनुका साथै आसपासका बस्तीसमेत डुबानमा परेका छन्। अहिले भने वर्षा रोकिएको र प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनको काम जारी रहेको उनले जानकारी दिए।
बाढीबाट प्रभावित स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तथा जोखिममा रहेका क्षेत्रको अवस्था बुझ्ने काम भइरहेको पौडेलले बताए। हालसम्म बाढीका कारण मानवीय क्षति भएको जानकारी प्राप्त नभएको प्रशासनले जनाएको छ।
यसैगरी, बिहादी गाउँपालिका–६ स्थित सेतीबेणी क्षेत्र पनि कालीगण्डकी नदीको बाढीका कारण डुबानमा परेको छ। नदीको जलसतह बढेपछि सेतीबेणीका बस्ती प्रभावित भएका हुन्।
प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा स्थानीयको समन्वयमा उद्धार र व्यवस्थापनको काम भइरहेको छ। बाढीबाट भएको भौतिक क्षतिको थप विवरण संकलन गर्ने कामसमेत भइरहेको प्रशासनले जनाएको छ।