काठमाडौं । २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ।
जापानको तोकाइ सिटिजन व्यायामशालामा शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल भारतसँग ४८–२४ अंकले पराजित भएको हो।
खेलको पहिलो हाफमा भारतले ३१–१७ को अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि भारतले १७–७ को अग्रता कायम राख्दै सहज जित निकाल्यो।
भारतसँगको पराजयसँगै नेपालले महिला कबड्डीमा कास्य पदकमा चित्त बुझाएको छ। गत संस्करणको १९औँ एसियन गेम्सको सेमिफाइनलमा पनि नेपाल भारतसँगै पराजित भएको थियो। त्यसबेला पनि नेपालले कास्य पदक जितेको थियो।
जारी प्रतियोगिताको समूह चरणमा नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो। त्यसपछि अन्तिम खेलमा श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको थियो।
महिला कबड्डीको कास्यसँगै जारी एसियन गेम्समा नेपालको पदक संख्या दुई पुगेको छ। यसअघि पुरुष करातेको कुमिते ८४ केजी तौल समूहमा तेन्जिङ शेर्पाले कास्य पदक जितेका थिए।