विराटनगर- अविरल वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज र भोलि महानगर क्षेत्रका विद्यालय बन्द रहने जानकारी दिएको हो।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ। भारी वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्नुका साथै बस्ती र सडकमा डुबान तथा बाटोघाटो अवरोध हुन सक्ने जोखिम रहेकाले विद्यार्थी तथा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखी विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखाले जनाएको छ।
महानगरपालिकाले विपद्को अवस्था सिर्जना भएमा सुरक्षित विद्यालय भवनलाई आवश्यकताअनुसार अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न विद्यालय प्रशासनलाई आग्रह गरेको छ।