विराटनगर । विराटनगर–३, बुद्धचोकस्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा असोज ३ गते सम्पन्न भएको छ। संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद खनालको अध्यक्षतामा सम्पन्न सभामा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला प्रमुख अतिथि थिए।
कार्यक्रममा कोशी प्रदेश सहकारी संघका अध्यक्ष डा. डिल्ली पोखरेल, नागरिक उड्डयन प्राधिकरण विराटनगरका निर्देशक सुभास झा, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवाललगायतको उपस्थिति थियो।
सभामा अध्यक्ष खनालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी सञ्चालनमा निरन्तर सिकाइ, जिम्मेवारीबोध, पारदर्शिता र शेयर सदस्यको मार्गदर्शन आवश्यक रहेको बताए। १८ वर्षदेखि कार्यकारी जिम्मेवारीमा रहे पनि अझै धेरै कुरा सिक्न बाँकी रहेको उल्लेख गर्दै उनले शेयर सदस्यको सुझाव र मार्गदर्शनलाई संस्थाले आत्मसात गर्दै आएको बताए। वार्षिक प्रतिवेदनअनुसार सहकारीले आर्थिक वर्ष २०८२/०८३ मा १ करोड ७५ लाख आम्दानी र ५१ लाख ३१ हजार रुपैयाँ करपछिको बचत गरेको छ। संस्थाले १९ लाख ४३ हजार रुपैयाँ राजस्व बुझाएको जनाएको छ।

सभामा शेयर सदस्यलाई १० प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्तावसमेत प्रस्तुत गरिएको थियो। साथै, ‘उज्ज्वल भविष्य अभियान’ अन्तर्गत विद्यार्थी लक्षित सहकारी शिक्षा तथा दुर्व्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम र ‘ज्येष्ठ नागरिकसँग सहकारी’ कार्यक्रममार्फत ज्येष्ठ शेयर सदस्यलाई सम्मान तथा धार्मिक–सांस्कृतिक यात्राको योजना अघि सारिएको छ। साधारण सभाका अवसरमा ज्येष्ठ शेयरधनीहरुलाई सम्मान गर्नुका साथै शेयर सदस्यका छोराछोरीमध्ये SEE मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा प्रहरी उपरीक्षक कवित कटवालले सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत लागूऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै प्रशंसा गरे। साथै सुरक्षा प्रदान गर्न आफुहरु सधै तयार रहेको बताए।
मेयर नागेश कोइरालाले बुद्धोदय सहकारीले आर्थिक कारोबारसँगै सामाजिक दायित्वसमेत निर्वाह गर्दै आएको बताए। उनले सहकारीले शेयर सदस्यको आर्थिक तथा सामाजिक हितलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

सभामा सचिव सन्तोष बराल, कोषाध्यक्ष यज्ञप्रसाद खतिवडा, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, शेयर सदस्य, ऋणी तथा कर्मचारीहरु सहित ८ सय भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो। सभाले संस्थाको विगतको कार्यप्रगति समीक्षा गर्दै आगामी आर्थिक वर्षका योजना तथा कार्यक्रम अघि बढाएको छ।
