विराटनगर । लिड नेपालको आयोजना तथा युरोपियन युनियनको सहयोगमा विराटनगरमा आयोजित ‘नेपाली राजनीतिमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकास तथा प्रतिनिधित्व’ विषयक दुईदिने अन्तरक्रिया तथा कार्यशाला कार्यक्रम बिहीबार सम्पन्न भएको छ।
कार्यशालामा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। कार्यक्रममा मोरङ, सुनसरी र झापाका विभिन्न संघसंस्था तथा मानव अधिकारका क्षेत्रमा कार्यरत प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यशालामा नेपाली राजनीतिमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको नेतृत्व विकास, राजनीतिक प्रतिनिधित्व तथा उनीहरूको सहभागिता बढाउने विषयमा अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले राजनीतिक तथा सामाजिक क्षेत्रमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अर्थपूर्ण सहभागिताका लागि आवश्यक पहल, अवसर र चुनौतीका विषयमा आफ्ना धारणा राखेका थिए।
दुई दिनसम्म सञ्चालन भएको कार्यशालाले सम्बन्धित समुदायको नेतृत्व विकाससँगै राजनीतिक प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने विषयमा छलफल र अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ।