काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कप २०२६ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
नेपाललाई प्रतियोगिताको उपाधि दिलाउन बलिङतर्फ महत्त्वपूर्ण योगदान दिएका सन्दीपले ६ खेलमा कुल १७ विकेट लिए। उनले प्रतियोगिताको सुरुआती खेलमै बहराइनविरुद्ध ५ विकेट लिएका थिए।
त्यसपछि मलेसियाविरुद्ध १, साउदी अरेबियाविरुद्ध ३, हङकङविरुद्ध ४, सेमिफाइनलमा ओमानविरुद्ध ३ तथा फाइनलमा यूएईविरुद्ध १ विकेट लिएका थिए।
सन्दीपले प्राप्त गरेको सर्वोत्कृष्ट खेलाडीको अवार्ड नेपालमा आएको बाढीबाट प्रभावित व्यक्तिहरूलाई समर्पित गरेका छन्।
शनिबार सम्पन्न फाइनल खेलमा नेपालले यूएईलाई पराजित गर्दै एसीसी प्रिमियर कप २०२६ को उपाधि जितेको हो। नेपालको उपाधि यात्रामा सन्दीपको बलिङ प्रदर्शन निर्णायकमध्ये एक बनेको थियो।