काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि बनेको ताल जुनसुकै बेला फुट्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गर्न सुरु गरिएको छ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार क्यामेरामार्फत नदीको बहाव तथा तालको अवस्थालाई प्रत्यक्ष निगरानी गर्न सकिनेछ। यसले तालको अवस्था परिवर्तन भए–नभएको तत्काल जानकारी लिन सहयोग पुग्नेछ।
बाढीविद् सौहार्द जोशीका अनुसार सिसी क्यामेराबाट प्राप्त दृश्य तथा सूचनाका आधारमा सम्भावित जोखिमको समयमै पहिचान गर्न सकिनेछ। साथै, जोखिम बढेमा नदी तटीय क्षेत्रका नागरिकलाई पूर्वसूचना दिनसमेत यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भोटेकोशी क्षेत्रमा बाढी तथा पहिरोका कारण जोखिम बढिरहेका बेला नदीको अवस्था निरन्तर निगरानी गर्न क्यामेरा जडानलाई महत्वपूर्ण कदमका रूपमा लिइएको छ।