विराटनगर । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसँग राखेका माग सम्बोधन नभएको भन्दै आजदेखि देशभरका म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ।
संघको निर्णयअनुसार काठमाडौं उपत्यकासहित देशभर रहेका म्यानपावर कम्पनी तथा शाखा कार्यालयबाट वैदेशिक रोजगारीसम्बन्धी सम्पूर्ण सेवा ठप्प हुने भएका छन्।
नयाँ विज्ञापन प्रकाशन, अन्तर्वार्ता, श्रमिक छनोट प्रक्रियादेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण काम रोक्ने संघले जनाएको छ।
म्यानपावर कम्पनी बन्द भएसँगै पूर्वनिर्धारित श्रमिकका उडानसमेत प्रभावित हुने देखिएको छ।
विशेषगरी भिसा प्राप्त गरिसकेका तर उडानको पर्खाइमा रहेका श्रमिकलाई प्रत्यक्ष असर पर्ने सम्भावना छ।
व्यवसायीहरूले कारबाही फिर्ता, पारदर्शी लागत र वैज्ञानिक सेवा शुल्क निर्धारण, हवाई भाडा घटाउनेलगायत माग अघि सारेका छन्। माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने संघले जनाएको छ।