विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि सुरु भएको विरोध प्रदर्शनको प्रभाव विराटनगरमा पनि परेको छ। सुरक्षा संवेदनशीलता र सम्भावित अवरोधका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्।
आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो। घटनामा अन्य सर्वसाधारण र सुरक्षाकर्मी समेत घाइते भएका छन्। त्यसपछि विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ।
सोही घटनाको विरोधमा सोमबार विराटनगरमा पनि प्रदर्शन भएको थियो। प्रदर्शनका कारण सुरक्षा जोखिम बढ्न सक्ने तथा विद्यालयका सवारीसाधन सञ्चालनमा अवरोध हुन सक्ने अवस्था देखिएपछि अधिकांश विद्यालय तथा कलेजले पठनपाठन सञ्चालन नगरेका हुन्।
यद्यपि विराटनगर महानगरपालिकाले विद्यालय बन्द गर्ने वा सार्वजनिक बिदा दिने कुनै औपचारिक निर्णय गरेको छैन। महानगरले बिदा घोषणा नगरे पनि सुरक्षा अवस्था र यातायातमा देखिएको अनिश्चिततालाई मध्यनजर गर्दै विद्यालयहरूले आफ्नै निर्णयमा पठनपाठन स्थगित गरेका हुन्।