मोरङ । मोरङको कटहरी गाउँपालिका–७ बबियाँ, तितोतोलिया (भुल्के पुल) स्थित श्री संसारी माई मन्दिरको जीर्णोद्धार तथा धर्म, संस्कृति र सामाजिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले ऐतिहासिक श्रीमद् देवीभागवत धन–धान्याञ्चल आध्यात्मिक नवाह भक्ति महोत्सव–२०८३ आयोजना हुने भएको छ।
श्री संसारी मन्दिर तथा नवाह ज्ञानमहायज्ञ समारोह समितिले असोज २ गतेदेखि १० गतेसम्म सञ्चालन हुने महोत्सवका लागि तयारीलाई तीव्र बनाएको आयोजकको भनाइ छ। महोत्सवमा नेपालका चर्चित युवा कथावाचक पण्डित लक्ष्मण पौडेलद्वारा संगीतमय श्रीमद् देवीभागवत कथा वाचन तथा पण्डित माधव मिश्र द्वारा पाठ पारायण गरिनेछ। त्यस्तै ईश्वर सरदारको संयोजकत्वमा विशेष भजन–कीर्तन, देवीलीला, झाँकी तथा दर्शनको समेत व्यवस्था गरिएको छ।
कार्यक्रमअन्तर्गत असोज २ गते बिहान कलश यात्रासँगै महोत्सवको शुभारम्भ गरिनेछ। त्यसपछि दैनिक श्रीमद् देवीभागवत पाठ पारायण, कथा वाचन, गंगा महाआरती, भजन–कीर्तन, झाँकी तथा धार्मिक–सांस्कृतिक कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।
यस्तै, असोज ५ गते विशेष भोग अर्पण तथा कथा वाचन, असोज ८ गते लक्षबत्ती, दीप प्रज्वलन र सम्मान कार्यक्रम तथा असोज १० गते पूर्णाहुति र तिलक–प्रसाद वितरणसँगै महोत्सव समापन गरिने कार्यक्रम तय गरिएको छ।
आयोजकका अनुसार महोत्सवबाट मन्दिरको जीर्णोद्धार, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सामाजिक एकता अभिवृद्धि र समाज कल्याणका कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। महोत्सव सफल बनाउन विभिन्न तहका दाताका लागि सम्मानको व्यवस्था गरिएको जनाउँदै आयोजकले सम्पूर्ण धर्मप्रेमी, श्रद्धालु तथा सर्वसाधारणलाई सहभागिताका लागि आग्रह गरेको छ।