विराटनगर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा आएको छ।
काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना असार ५ गतेदेखि बन्द गरिएको थियो।
संक्रमण नियन्त्रणका लागि बिरामी पक्षीहरूको उपचार, सरसफाइ तथा आवश्यक व्यवस्थापनका काम सम्पन्न गरिएपछि वातावरणीय नमुना परीक्षणमा बर्डफ्लु नदेखिएसँगै चिडियाखाना पुनः खोलिएको हो।
चिडियाखाना प्रशासनका अनुसार पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।
सदर चिडियाखाना बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म अवलोकनका लागि खुला रहनेछ भने आगन्तुकले बेलुका ५ बजेसम्ममा चिडियाखानाबाट बाहिरिनुपर्नेछ।
चिडियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पक्षीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ।
यसअघि संक्रमित देखिएका खोरहरू रातो रिबनले घेरिएको जनाउँदै ती क्षेत्रमा अनावश्यक रूपमा नबस्न र आवश्यक दूरी कायम गर्न अनुरोध गरिएको छ।