विराटनगर । विराटनगरस्थित सौर्य बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक पवन झा मंगलबार पक्राउ परेका छन् ।
सप्तरी स्थायी घर भई विराटनगरमा बस्दै आएका झालाई ठगी आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार पक्राउ गरेको हो ।
झालाई ठगी सम्बन्धी कसुरमा पक्राउ गरेर अनुसन्धान थालिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र कुमार मिश्रले पुष्टि गरे ।
झाले धेरै व्यक्तिहरूलाई ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको थियो । प्रशासन कार्यालयले उनलाई नियन्त्रणमा लिएर थप कानुनी कारबाही र अनुसन्धानका लागि मोरङ प्रहरीको जिम्मा लगाएको हो ।
प्रहरीका अनुसार उनीविरुद्ध १ लाखदेखि ६ लाख रुपैयाँसम्म ठगीमा परेका पीडितहरूले उजुरी दिएका छन् । उनीमाथि ठगीका विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको छ ।