विराटनगर- सुनसरी प्रहरीले सप्तकोशी नदीको बाँध क्षेत्रबाट बेवारिसे अवस्थामा ३०८ किलोग्राम गाँजा बरामद गरेको छ। बिहीबार बिहान करिब १:३० बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो।
नियमित गस्तीका क्रममा कोशी गाउँपालिका-७ स्थित केराबारी र भाण्टाबारीको बीचमा पर्ने सप्तकोशी नदीको बाँध किनारमा पानीमा तैरिरहेको अवस्थामा आठवटा कालो प्लास्टिकले बेरिएका शंकास्पद पोका फेला पारेको थियो। उक्त पोका खोलेर जाँच गर्दा ३०८ किलोग्राम गाँजा फेला परेको हो।
बरामद गरिएको लागुऔषध जिल्ला प्रहरी कार्यालय सुनसरीमा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको तथा गाँजा त्यहाँ ल्याएर छाड्ने वा ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।