विराटनगर- मोरङ कारागारका कैदीबन्दीको भत्ताबापतको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले आदेश दिएको छ।
सोमबार न्यायाधीश टंकबहादुर महतको इजलासले यसअघि उच्च अदालत विराटनगरले दिएको निर्देशनात्मक आदेशलाई कायम राख्दै गिरीलाई हिरासतमा नराखी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धानका लागि गिरीको म्याद थप गर्न अदालतमा उपस्थित गराएको थियो। तर अदालतले उनलाई थुनामुक्त गर्दै बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो। अन्य आरोपितको हकमा भने म्याद थप गरिएको छ।
यसअघि उच्च अदालतका न्यायाधीशद्वय गणेश ठाकुर र नारायणप्रसाद रेग्मीको संयुक्त इजलासले पाँच दिनभित्र अनुसन्धान पूरा गरी अभियोगपत्र दर्ता गर्न वा अनुसन्धान नसकिए गिरीलाई थुनामुक्त गरेर बाहिरै राखी कानूनी प्रक्रिया अघि बढाउन निर्देशनात्मक आदेश दिएको थियो।
गिरीलाई प्रहरीले असार १३ गते विराटनगर महानगरपालिका-८ मधुमारास्थित उनको निवासबाट पक्राउ गरेको थियो।