विराटनगर । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न १४ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
महाशाखाले आज बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, अछाम, डोटी, बैतडी, डडेलधुरा, कैलाली, कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना रहेको जनाएको छ।
आज ती क्षेत्रमा पर्ने वर्षाका कारण साना नदी तथा खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
यस्तै, भोलि असार २३ गते र पर्सि असार २४ गते बाढीको जोखिम देशको पूर्वी तथा मध्य भागतर्फ सर्ने अनुमान गरिएको छ।
मौसम पूर्वानुमानअनुसार कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही साना नदीहरूमा पानीको बहाव अचानक बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
नदी तटीय क्षेत्र तथा बाढीको जोखिम भएका स्थानमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।