विराटनगर । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियानले उल्लेखनीय प्रगति हासिल गरेको छ। प्रदेश सरकारका अनुसार हालसम्म ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा बचतकर्ताको बैंक खातामा सिधै जम्मा गरिएको छ।
अभियानअन्तर्गत अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका मागदाबी गरेका बचतकर्तालाई चरणबद्ध रूपमा रकम फिर्ता गरिएको हो। ठूलो रकम बचत गरेका तथा साना बचतकर्तालाई समेत प्राथमिकताका आधारमा राहत उपलब्ध गराइएको प्रदेश सरकारले जनाएको छ। रकम सिधै बचतकर्ताको खातामा पठाइएकाले पीडितमा विश्वास र राहतको अनुभूति बढेको बताइएको छ।
सहकारी व्यवस्थापन तथा सुधार अभियानअन्तर्गत हालसम्म १०१ वटा ऋण फुकुवा, २३० जना ऋणीबाट ऋण असुली तथा १६७ वटा बचत मिलानमार्फत ऋण समायोजन गरिएको छ। यस प्रक्रियाबाट १५ करोड ३७ लाख ४० हजार रुपैयाँ नगद ऋण असुली भएको छ भने २ करोड ९० लाख ९८ हजार ६४ रुपैयाँ ७४ पैसा बराबरको ऋण समायोजन गरिएको प्रदेश सरकारले जनाएको छ।
त्यस्तै, पहिलो चरणमा मागदाबी गरेका १७३ जना बचतकर्तालाई प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले राहत वितरण गरिएको छ। बाँकी बचतकर्तालाई पनि दाबीको अवस्था र उपलब्ध स्रोतका आधारमा चरणबद्ध रूपमा रकम फिर्ता गर्ने कार्य जारी रहेको जनाइएको छ।
मन्त्री डा. इस्राईल मन्सुरीले सहकारी क्षेत्रप्रति जनविश्वास पुनःस्थापित गर्न, बचतकर्ताको हित संरक्षण गर्न तथा समस्याग्रस्त सहकारीहरूको व्यवस्थापनलाई व्यवस्थित बनाउन प्रदेश सरकार निरन्तर सक्रिय रहेको बताए। उनले सहकारी पीडितलाई न्याय दिलाउनु प्रदेश सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि बचत फिर्ता अभियानलाई थप प्रभावकारी रूपमा निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।