विराटनगर । कृषकलाई कृषि उत्पादनमा सहजता पुर्याउने उद्देश्यले बर्जु गाउँपालिका–२ वडा कार्यालयले किसानहरूलाई २० वटा स्प्रे मेसिन निःशुल्क वितरण गरेको छ।
शुक्रबार आयोजित कार्यक्रममा वडा अध्यक्ष महेन्द्र प्रसाद कामत, वडा सचिव अक्षय कुमार राय सहित वडा सदस्यहरुको टोलीले वडाभित्रका कृषकहरूलाई स्प्रे मेसिन हस्तान्तरण गरेको थिए । किसानहरूले विषादी तथा जैविक औषधि छर्कन सहज होस्, उत्पादन लागत घटोस् र आधुनिक कृषि प्रविधिको प्रयोग बढोस् भन्ने उद्देश्यले मेसिन वितरण गरिएको वडा कार्यालयले जनाएको छ।
वितरण कार्यक्रममा बोल्दै अध्यक्ष कामतले कृषि नै स्थानीय अर्थतन्त्रको मुख्य आधार भएकाले किसानको आवश्यकतालाई मध्यनजर गर्दै निःशुल्क स्प्रे मेसिन वितरण गरिएको बताए। उनले आगामी दिनमा पनि किसानको उत्पादन वृद्धि, आधुनिकीकरण र आत्मनिर्भरता प्रवर्द्धन गर्ने विभिन्न कृषि कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।
वडा सचिव रायले कृषकको आवश्यकता पहिचान गर्दै वडाले समयानुकूल कृषि सामग्री तथा सेवा उपलब्ध गराउँदै आएको उल्लेख गरे। उनले किसानमैत्री कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने बताए।
स्प्रे मेसिन प्राप्त गरेका किसानहरूले वडाको पहलले कृषि कार्यमा सहजता पुग्ने विश्वास व्यक्त गर्दै यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन्।