मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ५ की नन्दनी सरदारलाई आज भन्दा केही वर्ष अगाडिसम्म पानीको धौधौ थियो । आसपासका १० घरका लागि एउटा मात्रै ट्युबेल थियो । बिहानैदेखि गाग्री र बाल्टिन बोकेर लाइन बस्नुपर्थ्यो । दिनरात चलाउँदा ट्युबेल बिग्रन्थ्यो । कल बिग्रिएर पानी नआउँदा टाढासम्म धाउनुपर्ने र एउटा ट्युबेलमा दर्जनौँ परिवार निर्भर हुनुपर्ने बाध्यता थियो ।
‘१० वटा घरले एउटै कल चलाउनुपर्दा गाह्रो हुन्थ्यो, पानी पिउन, लुगा धुन र नुहाउन निकै कठिन हुन्थ्यो,’ विगत सम्झिँदै उनी भन्छिन् । तर केही वर्षअघिसम्म एउटा ट्युबेलमा पालो कुरेर पानी भर्नुपर्ने बाध्यता अहिले इतिहासजस्तै बनेको छ । अहिले अधिकांश घरआँगनमै ट्युबेल पुगेका छन्, कतिपय बस्तीमा धाराबाट शुद्ध पानी आउँछ, विद्यालय र स्वास्थ्य संस्थामा पानी फिल्टर जडान भएका छन् ।
विशेषगरी धनपालथान गाउँपालिकाले खानेपानी क्षेत्रमा योजनाबद्ध लगानी र निरन्तर प्रयास जारी राखेपछि अवस्था अहिले धेरै हदसम्म परिवर्तन भएको सरदार बताउँछिन् । ‘पहिलेको गाह्रो हेरेर धेरै नै सहज भएको छ,’ सरदार भन्छिन्, ‘यसका लागि पालिका प्रमुखज्यूसहित जनप्रतिनिधिले पहल गर्नु नै भएको छ । कहिले ट्युबेल वितरण त कहिले खानेपानीको पाइप बिछ्याउने काममा उहाँहरूको योगदान छ ।’
मोरङको दक्षिणी क्षेत्रमा अवस्थित धनपालथान गाउँपालिका कृषि, व्यापार, सामाजिक तथा सांस्कृतिक विविधताले परिचित स्थानीय तह हो । करिब ४८.९४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका समुदायको बसोबास रहेको छ । साविकका नोचा, कदमाहा, दादरबैरिया, अमाही बरियाती र सोराभाग गाविसलाई समेटेर वि.सं. २०७३ सालमा गाउँपालिका गठन गरिएको हो । साविकको कदमाहा गाविसमा रहेको ऐतिहासिक राजा धनपालथानको मन्दिरबाट धनपालथान गाउँपालिकाका रूपमा नामकरण हुनुभन्दा अगाडिसम्म यहाँका नागरिकको एउटा ठुलो समस्याका रूपमा थियो, खानेपानी ।
खानेपानी नेपालको संविधानले सुनिश्चित गरेको मौलिक तथा मानवीय अधिकार हो । स्वच्छ र सुरक्षित खानेपानी प्रत्येक नागरिकको आधारभूत आवश्यकता मात्र होइन, यो मानवीय अधिकार पनि हो । यसै कुरालाई मध्यनजर गरेर धनपालथान गाउँपालिका सुरक्षित तथा स्वच्छ पिउने पानी गाउँपालिकाबासीको घरघर पुर्याउन कम्मर कसेर लागेको थियो ।
संविधानिक मर्मबमोजिम पालिकाले खानेपानी पूर्वाधार निर्माण, पाइपलाइन विस्तार, पानी शुद्धीकरण, गुणस्तर परीक्षण तथा सरसफाइ प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । पालिकाले खानेपानी सेवा नागरिकको घरदैलोमै पुर्याउने प्रयासलाई तीव्रता दिँदा जनस्वास्थ्य सुधार आएको छ ।
व्यवस्था परिवर्तनसँगै खानेपानीमा व्यापक सुधार
संघीयता कार्यान्वयनसँगै स्थानीय सरकार गठन भएपछि धनपालथान गाउँपालिकाले खानेपानीलाई विकासको प्रमुख प्राथमिकतामध्ये एक बनायो । पाइपलाइन विस्तार, ट्युबेल वितरण, आधुनिक पानी शुद्धीकरण फिल्टर जडान, विद्यालय तथा स्वास्थ्य संस्थामा सुरक्षित पिउने पानीको व्यवस्था, पानीको गुणस्तर परीक्षण तथा जनचेतनामूलक कार्यक्रमलाई योजनाबद्ध रूपमा अघि बढाइयो । त्यसको प्रभाव अहिले गाउँपालिकाका अधिकांश वडामा प्रत्यक्ष महसुस गर्न सकिन्छ । पहिले पानीको अभावसँग जुध्ने नागरिक अहिले सुरक्षित र गुणस्तरीय खानेपानीतर्फ उन्मुख भएका छन्।
यस परिवर्तनको एउटा प्रतिनिधि उदाहरण हो वडा नं. ४ स्थित कर्सिया खानेपानी उपभोक्ता तथा सरसफाइ समिति । २०५७ सालमा स्थापना भए पनि २०७२ सालदेखि नियमित रूपमा सञ्चालनमा आएको यस योजनाले सुरुमा करिब २० घरधुरीलाई सेवा दिँदै आएको थियो । अहिले भने तीन सयभन्दा बढी घरधुरीसम्म शुद्ध खानेपानी पुर्याइरहेको छ । विगत करिब १२ वर्षदेखि यस क्षेत्रका स्थानीयले नियमित रूपमा धाराबाट पानी उपभोग गर्दै आएका छन् ।
समितिका अध्यक्ष खेमराज लोहनीका अनुसार स्थानीय सरकार गठनपछि गाउँपालिकाले खानेपानी योजनालाई निरन्तर सहयोग गरेकै कारण सेवा विस्तार सम्भव भएको हो । उनका अनुसार बजेट व्यवस्थापनदेखि पाइप विस्तार, मर्मतसम्भार र पानी शुद्धीकरणसम्म गाउँपालिकाले निरन्तर साथ दिएको छ ।
स्थानीय सरकारको सक्रियताको सबैभन्दा ठूलो उदाहरण हुलाकी सडक निर्माणका क्रममा देखिएको थियो । करिब तीन वर्षअघि कर्सिया बजार क्षेत्रमा मुख्य पाइपलाइन क्षतिग्रस्त हुँदा झण्डै २०० परिवार खानेपानी सेवाबाट बञ्चित भएका थिए । यस्तो अवस्थामा गाउँपालिकाका अध्यक्ष जीवछप्रसाद गच्छदारको पहलमा हुलाकी सडक विभाग, इटहरी र प्रदेश सरकारसँग समन्वय गरी करिब ३,५०० फिट नयाँ पाइप बिछ्याइयो । करिब १० लाख रुपैयाँको लागतमा सम्पन्न उक्त योजनापछि पुनः नियमित रूपमा खानेपानी वितरण सुरु भयो । यसले स्थानीय सरकार समस्या समाधानमा कति सक्रिय छ भन्ने स्पष्ट देखायो ।
खानेपानी सेवाको विस्तार अहिले पनि निरन्तर जारी छ । आर्थिक वर्ष २०८१/८२ मा मात्रै वडा नं. ४ मा पाँच लाख रुपैयाँ विनियोजन गरी करिब तीन किलोमिटर नयाँ पाइपलाइन विस्तार गरिएको छ । धनपालथान-३ बीपी चोकदेखि दक्षिण सिमराही फिल्ड हुँदै पूर्वमेयर हरिलाल सिंहको गाउँसम्म नयाँ लाइन विस्तार गरिएको छ । कर्सिया बजारस्थित पेट्रोल पम्पदेखि दक्षिणतर्फ थप करिब डेढ किलोमिटर पाइप बिछ्याइएको छ । हाल पनि विस्तारको काम जारी रहेको गाउँपालिकाले जनाएको छ ।
वडा नं. ५ मा पनि पाँच लाख रुपैयाँको लागतमा पाइपलाइन विस्तार सम्पन्न भइसकेको छ भने घरधुरीमा धारा जडानको प्रक्रिया अघि बढिरहेको छ । यसले बिस्तारै ट्युबेलमा निर्भरता घटाउँदै सुरक्षित पाइपमार्फत खानेपानी उपलब्ध गराउने लक्ष्यलाई अघि बढाइरहेको छ ।
गाउँपालिकाले ट्युबेल वितरणलाई पनि प्राथमिकतामा राखेको छ । वडा नं. ४ का अध्यक्ष श्रीराम चौधरीका अनुसार प्रत्येक वर्ष हरेक वडामा करिब ३० वटा ट्युबेल वितरण हुँदै आएको छ । खानेपानी, सरसफाइ तथा सिँचाइ शाखाका प्रमुख अनिल कुमार सिंहका अनुसार गाउँपालिकाले वार्षिक रूपमा एक सयभन्दा बढी ट्युबेल वितरण गरिरहेको छ । वडा नं. ५ का अध्यक्ष गयानन्द सरदारका अनुसार गाउँपालिका स्थापना भएयता वडा नं. ५ मा मात्रै पाँच सयभन्दा बढी ट्युबेल वितरण भइसकेका छन् ।
ट्युबेल वितरणले विशेषगरी विपन्न तथा ग्रामीण बस्तीका नागरिकको दैनिक जीवनमा ठूलो परिवर्तन ल्याएको छ । पानीका लागि घण्टौँ समय खर्चिनुपर्ने अवस्था अन्त्य हुँदै गएको छ । महिलाको श्रम घटेको छ भने बालबालिकाले पनि समयमै विद्यालय जान पाएका छन् । सरसफाइमा सुधार आउँदा स्वास्थ्यसम्बन्धी जोखिमसमेत घट्दै गएको स्थानीयहरू बताउँछन् ।
धनपालथान गाउँपालिकाले खानेपानीको पहुँच मात्रै बढाएको छैन, पानीको गुणस्तर सुधारमा पनि विशेष ध्यान दिएको छ । गाउँपालिकाको पहलमा प्रदेश सरकारको करिब ३५ लाख रुपैयाँको लगानीबाट कर्सिया खानेपानी योजनामा आधुनिक पानी शुद्धीकरण फिल्टर जडान गरिएको छ । करिब एक लाख लिटर क्षमता भएको ट्यांकीमा जडान गरिएको उक्त फिल्टरले पानीलाई अझ सुरक्षित र गुणस्तरीय बनाएको छ ।
अध्यक्ष खेमराज लोहनीका अनुसार फिल्टर जडानपछि उपभोक्ताले पहिलेभन्दा धेरै सफा र सुरक्षित पानी उपभोग गरिरहेका छन् । गाउँपालिकाले खानेपानी योजनामा सौर्य ऊर्जा प्रणालीसमेत जडान गरिदिएको छ, जसले सञ्चालन खर्च घटाउनुका साथै सेवा नियमित बनाउन सहयोग पुर्याएको छ ।
कर्सिया बजारस्थित बाबा होटल सञ्चालक……………..का अनुसार फिल्टर जडानपछि पानीको गुणस्तरमा उल्लेखनीय सुधार आएको छ । “पहिला कहिलेकाहीँ धमिलो पानी आउँथ्यो । सरसफाइ गर्दा माटो मिसिएर पनि आउँथ्यो । अहिले पानी निकै सफा आउँछ । यही पानी प्रयोग गरेर खाना पकाउँदा तरकारी कालो हुँदैन। ग्राहकलाई पिउन पनि यही पानी दिन्छौँ र अहिलेसम्म कुनै गुनासो आएको छैन,” उनले भने ।
विद्यालय र स्वास्थ्य संस्थालाई सुरक्षित खानेपानीसँग जोड्ने अभियान पनि गाउँपालिकाले समानान्तर रूपमा अघि बढाइरहेको छ । गाउँपालिकाभित्रका विभिन्न विद्यालय तथा स्वास्थ्य संस्थामा पानी फिल्टर जडान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत रिता खतिवडाका अनुसार चालु आर्थिक वर्षभित्र सबै विद्यालयमा शुद्ध पिउने पानीका लागि फिल्टर वितरण गर्ने योजना रहेको छ । साथै सुरक्षित खानेपानी, सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि प्रत्येक वडामा सञ्चालन भइरहेका छन् ।
गर्भवती महिला तथा सुत्केरी आमाको स्वास्थ्यलाई लक्षित गरी गाउँपालिकाले पटक–पटक वाटर फिल्टर वितरण गर्दै आएको छ । गाउँपालिका उपाध्यक्ष नशीमा बानोका अनुसार आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइनेछ । गाउँपालिकाले पोषणमैत्री टोल तथा पोषणमैत्री स्थानीय तह निर्माण अभियानअन्तर्गत सुरक्षित खानेपानी, सरसफाइ र स्वास्थ्य प्रवर्द्धनलाई एकीकृत रूपमा अघि बढाएको छ ।
संघीय सरकारको WASH कार्यक्रमअन्तर्गत प्राप्त बजेटमार्फत पनि खानेपानी, सरसफाइ तथा सिँचाइ क्षेत्रमा थप सुधारका कार्यक्रम सञ्चालन भइरहेका छन् । गर्भवती महिलाको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न ट्युबेलको पानीमा आइरन परीक्षण तथा गुणस्तर अनुगमन अभियान सञ्चालन गर्नु गाउँपालिकाको अर्को उल्लेखनीय प्रयास हो ।
यद्यपि, केही चुनौती अझै बाँकी छन् । कर्सिया खानेपानी संस्थाको ट्यांकीमा चढ्ने सिँढी जीर्ण अवस्थामा छ । संस्थासँग पर्याप्त कार्यालय भवन तथा सामग्री भण्डारण गर्ने स्टोर भवन छैन । हाल दुई जना कर्मचारीले नियमित रूपमा सेवा सञ्चालन गरिरहेका छन् । यी पूर्वाधारलाई थप व्यवस्थित बनाउने योजना गाउँपालिका र उपभोक्ता समितिले बनाएका छन् ।
गत वर्षको भदौमा भएको जेनजी आन्दोलनपछि केही स्थानमा खानेपानीका पाइपलाइन तथा संरचनामा क्षति पुगेको थियो । जसको मर्मत, पुनःनिर्माण र नयाँ फिल्टर जडानको आवश्यकता देखिएको छ । त्यसैगरी केही सामुदायिक विद्यालयमा अझै शुद्ध पिउने पानीको पर्याप्त व्यवस्था हुन सकेको छैन । वडा नं. २, ५ र ७ का स्वास्थ्य चौकीमा पनि सुरक्षित खानेपानी सेवाको थप विस्तार आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् ।
स्थानीयवासीले प्रत्येक वडामा कम्तीमा एउटा खानेपानी ट्यांकी निर्माण, खानेपानी क्षेत्रमा थप बजेट विनियोजन, पाइपलाइन विस्तार, नियमित पानी परीक्षण र जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
गाउँपालिका अध्यक्ष जीवछ प्रसाद गच्छदार “शुद्ध खानेपानी, स्वस्थ गाउँपालिकाबासी” केवल नारामात्र नभएर पालिकाकै विकासको दर्शन भएको बताउँछन् । उनी भन्छन्, ‘खानेपानीमा गरिएको लगानी नागरिकको स्वास्थ्यमा गरिएको लगानी हो । यसैले आगामी दिनमा पनि सबै वडामा सुरक्षित र शुद्ध खानेपानीको पहुँच सुनिश्चित गर्छु । मेरो यो अभियानलाई अझ तीव्र बनाउँछु ।’
स्थानीय सरकार गठनअघि पानीको अभाव र असुविधाको प्रतीक बनेको धनपालथान आज विस्तारै सुरक्षित खानेपानीतर्फको यात्रामा अगाडि बढिरहेको छ । ट्युबेलदेखि पाइपलाइन, फिल्टरदेखि गुणस्तर परीक्षण, विद्यालयदेखि स्वास्थ्य संस्था र घरआँगनसम्म पुगेको खानेपानी सेवाले देखाएको परिवर्तनले एउटा सन्देश स्पष्ट दिएको छ, स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हुँदा विकासका परिणाम पनि नागरिकको जीवनमा प्रत्यक्ष देखिन्छन् ।
केही वर्षअघि एउटै ट्युबेलको पालो पर्खेर दिन बिताउने नन्दनी सरदार आज आफ्नै घरआँगनमा सहज रूपमा पानी प्रयोग गरिरहेकी छन् । उनको यो अनुभव कुनै एक व्यक्तिको कथा मात्र होइन, धनपालथान गाउँपालिकाले स्थानीय सरकार गठनपछि खानेपानी क्षेत्रमा गरेको लगानी र त्यसबाट आएको परिवर्तनको प्रतिनिधि चित्र हो ।
तथापि, अझै सबै समस्या समाधान भइसकेका छैनन् । कतै नयाँ पाइपलाइन आवश्यक छ, कतै फिल्टर जडान गर्न बाँकी छ, कतै विद्यालय र स्वास्थ्य संस्थामा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्नुपर्नेछ । तर, विगतसँग वर्तमानलाई तुलना गर्दा धनपालथानले छोटो समयमै उल्लेखनीय फड्को मारेको देखिन्छ ।
अझै केही चुनौती बाँकी भए पनि योजनाबद्ध लगानी, प्रभावकारी व्यवस्थापन र नागरिकको सहभागिताले धनपालथान गाउँपालिकालाई सुरक्षित, स्वच्छ र दिगो खानेपानी व्यवस्थापनको नमुना स्थानीय तह बनाउने आधार दिनप्रतिदिन बलियो बनाइरहेको छ । खानेपानीमा गरिएको लगानीलाई स्वास्थ्य, शिक्षा, आर्थिक विकास र सामाजिक समृद्धिमा गरिएको दीर्घकालीन लगानीका रूपमा समेत हेरिन्छ ।
खानेपानीमा गरिएको लगानीको प्रतिफल तत्काल देखिने पूर्वाधारमा मात्र सीमित हुँदैन । त्यसको असर स्वस्थ नागरिक, उत्पादक श्रमशक्ति, गुणस्तरीय शिक्षा, सुरक्षित मातृत्व र समृद्ध समाज निर्माणसम्म फैलिन्छ । त्यसैले धनपालथानले थालेको यो अभियानलाई निरन्तरता दिनु केवल विकासको आवश्यकता मात्र होइन, संविधानले सुनिश्चित गरेको नागरिकको मौलिक अधिकारको पूर्ण कार्यान्वयन पनि हो । आज धारामा बगेको स्वच्छ पानीले भोलिको स्वस्थ र समृद्ध धनपालथानको आधार निर्माण गरिरहेको छ ।