विराटनगर- बर्जु गाउँपालिका वडा नं. ३ को आयोजनामा सञ्चालित महिला लक्षित १५ दिने सिलाइ–बुनाइ सीप विकास तालिम तथा सिलाइ मेसिन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर र स्वरोजगार बनाउन उद्देश्यले सञ्चालन गरिएको तालिम बिहीबार सम्पन्न भएको हो।
जेठ २४ गतेदेखि वडा कार्यालयमा सुरु भएको तालिममा १० जना महिलाको सहभागिता रहेको थियो। तालिमको प्राविधिक व्यवस्थापन नेपाल ग्रीन लिंक फाउन्डेसन प्रालि, इटहरी–८, सुनसरीले गरेको थियो।
तालिमका प्रशिक्षक तारा कुमारी थापाले १५ दिनको अवधि छोटो भए पनि सहभागी महिलालाई सिलाइ–कटाइका आधारभूत सीप सिकाइएको बताइन्। उनले अहिलेको प्रविधिमैत्री युगमा इच्छाशक्ति भए युट्युबजस्ता सामाजिक सञ्जालको माध्यमबाट थप सीप सिक्न सकिने उल्लेख गर्दै कुनै समस्या परे आफूलाई जुनसुकै बेला सम्पर्क गर्न सकिने सुझाव दिइन्।
तालिममा सहभागी अनु गुरुङले १५ दिनको प्रशिक्षणले सिलाइ–कटाइप्रति आत्मविश्वास बढाएको बताइन्। यसअघि कुनै अनुभव नभए पनि तालिमपछि सामान्य लुगा सिलाउन सक्ने सीप हासिल गरेको उल्लेख गर्दै उनले अब यसलाई व्यवसायका रूपमा अगाडि बढाउने योजना रहेको सुनाइन्। यस्ता सीपमूलक तालिमले महिलालाई घरमै बसेर आयआर्जन गर्ने अवसर सिर्जना गर्ने उनको भनाइ छ
तालिममा सहभागी सुजी मोचीले छोटो अवधिमै धेरै कुरा सिक्न पाएको अनुभव सुनाउँदै यस्ता तालिम अझ लामो समय सञ्चालन गरिए महिलाहरू अझ दक्ष बन्न सक्ने बताइन्। उनले आगामी वर्ष पनि लामो अवधिको सिलाइ–कटाइ तालिम सञ्चालन गर्न वडा कार्यालयसँग आग्रह गरिन्।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ३ का अध्यक्ष विनोद कुमार गुरुङले महिलालाई दैनिक जीवनयापनमा सहजता प्रदान गर्नुका साथै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए। उनले आगामी दिनमा पनि महिलाको क्षमता विकास र स्वरोजगार प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी बर्जु गाउँपालिकाका उपाध्यक्ष नितु कुमारी चौधरीले तालिम लिएपछि त्यसलाई निरन्तर अभ्यास र व्यवसायमा रूपान्तरण गर्न सहभागी महिलालाई आग्रह गरिन्। तालिम लिएर बीचमै छोड्ने प्रवृत्ति अन्त्य गर्दै सिकेको सीपलाई आयआर्जनसँग जोड्नुपर्नेमा उनले जोड दिइन् ।
कार्यक्रमको समापनसँगै सहभागी महिलाहरूलाई सिलाइ मेसिन हस्तान्तरण गरिएको थियो। स्थानीय तहको यस्तो पहलले महिलालाई स्वरोजगार, उद्यमशीलता र आर्थिक सशक्तीकरणतर्फ अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।