रंगेली । मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालयमा लागूऔषध दुर्व्यसनी तथा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
रंगेली नगरपालिका वडा नम्बर ७ को आयोजना तथा एम.आई. मिडिया हाउसको समन्वयमा बिहीबार कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूलाई लागूऔषध दुर्व्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक असरबारे जानकारी गराइएको थियो ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अशोककुमार झाले पछिल्लो समय किशोर तथा युवापुस्तामाझ लागूऔषध सेवनका घटना बढ्दो क्रममा रहेको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि केवल प्रहरी प्रशासनको प्रयास मात्र पर्याप्त नहुने बताए ।
परिवार, विद्यालय, स्थानीय तह र समाजका सबै पक्षको संयुक्त पहलबाट मात्रै लागूऔषधविरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्न सकिने उनको भनाइ थियो । उनले लागुऔषध तथा साइबर अपराधबाट टाढा रहँदै अध्ययन र सिर्जनात्मक गतिविधिमा ध्यान दिन विद्यार्थीहरूलाई आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै रंगेली नगरपालिकाका प्रमुख भूमा पराजुलीले लागूऔषधको जोखिमबाट किशोर तथा युवापुस्तालाई जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने बताइन् । यसैले रंगेली नगरपालिकाले आगामी आर्थिक वर्षमा नाटक मञ्चनसहितको प्रभावकारी कार्यक्रम आयोजना गर्ने लक्ष्य लिएको पनि उनको भनाइ छ ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय रंगेलीका रोशन श्रेष्ठले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, साइबर अपराध, अनलाइन ठगी, व्यक्तिगत गोपनीयताको सुरक्षा तथा डिजिटल माध्यमको जिम्मेवार प्रयोगबारे समेत सचेतना प्रदान गरेका थिए । उनले किशोरावस्थामा कुलत र साइबर अपराधको जोखिम बढ्दै गएकाले विद्यार्थीहरूले सही सूचना, सकारात्मक संगत र अनुशासित जीवनशैली अपनाउन आवश्यक रहेको बताए ।
कार्यक्रमका वडाध्यक्ष रामचन्द्र मण्डल, विद्यालयका प्रधानाध्यापक विश्वरसिंह मेवाहाङ, सहायक प्रधानाध्यापक सिताराम मण्डल तथा वडा सदस्य अनिल महतोको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले लागूऔषध दुर्व्यसन र साइबर सुरक्षासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए भने वक्ताहरूले त्यसबारे आवश्यक जानकारी दिएका थिए ।
विद्यालय परिसरमा आयोजित कार्यक्रमको सञ्चालन सञ्चारकर्मी माधव काफ्लेले गरेका थिए । कार्यक्रमले विद्यार्थीहरूमा लागूऔषध दुर्व्यसन तथा साइबर सुरक्षाबारे सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ ।