विराटनगर- मोरङको रंगेली नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष महानन्द मण्डल र वडा सदस्य गणेश ऋषिदेव पक्राउ परेका छन्।
झुटो विवरणका आधारमा नागरिकताको सर्जमिन सिफारिस गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उनीहरूले रंगेली-५ बस्ने मनुवाकुमार महतोलाई अंगीकृत नागरिकता प्राप्तिका लागि झुटो विवरणका आधारमा सर्जमिन सिफारिस प्रदान गरेको पाइएको छ।
नागरिकता लिनका लागि महतोले आफ्नी आमा अधनुनिया महतो भएको भन्दै झुटो विवरण पेश गरेका थिए। सोही विवरणका आधारमा वडा अध्यक्ष मण्डलले नागरिकताको सर्जमिन सिफारिस गरेको र वडा सदस्य ऋषिदेव रोहबरमा बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।