विराटनगर । कोशी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जेनजी आन्दोलनका क्रममा नष्ट भएको भनिएका ३० थान ल्यापटप र १४ थान मोबाइल फोनको वास्तविक अवस्थाबारे छानबिन गर्न माग गर्दै हेलो सीएममा उजुरी दर्ता भएको छ।
असार २ गते दर्ता गरिएको उजुरीमा २०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा जलेर नष्ट भएको भनिएका सरकारी सामग्री वास्तवमै नष्ट भएका हुन् वा अन्य प्रयोजनका लागि प्रयोगमा ल्याइएका हुन् भन्ने विषयमा निष्पक्ष अनुसन्धान गर्न माग गरिएको हो।
उजुरीकर्ताले आन्दोलनको क्षतिलाई आधार बनाएर सरकारी जिन्सी सामग्री कागजी प्रक्रियामार्फत नष्ट देखाउने र पछि व्यक्तिगत प्रयोगमा ल्याउने सम्भावनाबारे प्रश्न उठाएका छन्। सरकारी सम्पत्तिको वास्तविक अवस्था सार्वजनिक गर्न, आवश्यक परे भौतिक परीक्षण गर्न तथा जिम्मेवार व्यक्तिहरू पहिचान गरी कारबाही गर्नुपर्ने माग उजुरीमा गरिएको छ।
मुख्यमन्त्री कार्यालयका अनुसार उक्त उजुरी असार ३ गते हेलो सीएम प्रणालीमा दर्ता भएको छ भने त्यसको अनुगमनसमेत भइरहेको छ।
उजुरीमा सरकारी सामग्रीको संरक्षणको विषय मात्र नभई प्रदेश कर्मचारीतन्त्रभित्र आर्थिक अनुशासन, अतिरिक्त सेवा–सुविधा तथा सार्वजनिक स्रोतको प्रयोगमा पारदर्शिताको विषय पनि उठाइएको छ। संघीय सरकारबाट उपलब्ध हुने सुविधा बाहेक प्रदेशस्तरबाट समेत विभिन्न अतिरिक्त सुविधा प्रदान गरिँदा आर्थिक अनुशासन कमजोर बन्दै गएको दाबी उजुरीकर्ताले गरेका छन्।
यस्तै खरिद प्रक्रिया, जिन्सी व्यवस्थापन, ठेक्का तथा बोलपत्र प्रणालीमा हुने भनिएका अनियमितता, भ्रमण तथा बैठक भत्ताको दुरुपयोग, तालिम तथा गोष्ठीका नाममा हुने खर्च र विकास आयोजनाको कन्टिन्जेन्सी रकमको प्रयोगबारे समेत प्रश्न उठाइएको छ।
उजुरीकर्ताले सार्वजनिक सम्पत्तिको संरक्षण, आर्थिक अनुशासन र प्रशासनिक पारदर्शिता सुनिश्चित गर्न तत्काल सुधारका कदम चाल्न प्रदेश सरकारसँग माग गरेका छन्।