विराटनगर । गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपद व्यवस्थापनमा मन्त्रीको निरीक्षणभन्दा जनताको सुरक्षालाई प्राथमिकतामा राखिएको बताएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन हेलिकप्टर परिचालनदेखि मोबाइल एपमार्फत पहिरो जोखिम क्षेत्र पहिचान गर्ने व्यवस्था गरिएको जानकारी दिए।
उनका अनुसार सम्बन्धित मन्त्रालयले तयार पारेको मोबाइल एपमार्फत डोजर तथा अन्य उद्धार सामग्री कहाँ उपलब्ध छन् भन्ने जानकारी तुरुन्तै प्राप्त गर्न सकिनेछ।
उनले भने,’हाम्रो लाइन मिनिस्ट्रीले एउटा एप बनाएको छ। डोजरहरू कहाँ-कहाँ छन् भन्ने हामीलाई ठ्याक्कै थाहा हुन्छ। यदि कुनै क्षेत्रमा तत्काल प्रतिक्रिया दिनुपर्यो भने बाटो खुलाउने उद्देश्यले हामीले यो एप विकास गरेका छौँ।’
गृहमन्त्री गुरुङले आफू विगतमा पनि विपद् उद्धार तथा राहत कार्यमा सक्रिय रहेको उल्लेख गर्दै यसपटक विगतका सरकारका कमजोरी दोहोरिन नदिने दाबी गरे।