विराटनगर । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारततर्फ चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको बताएकी छन् ।
आज बसेको प्रतिनिधिसभामा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसद्हरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले चिया निर्यातको समस्या समाधानका लागि प्राविधिक तथा कूटनीतिक पहल भइरहेको र त्यो सकारात्मक दिशातिर अघि बढेको जानकारी दिएकी हुन् ।
उनले भनिन्‘विगतमा जस्तै चिया निर्यात सहज बनाउन र चिया उद्योगीका समस्या समाधान गर्न मन्त्रालयले गम्भीर भएर पहल गरिरहेको छ । यस विषयमा प्राविधिक तथा कूटनीतिक रूपमा आवश्यक कदम चालिएकाले छलफल सकारात्मक दिशातिर गइरहेको जानकारी गराउन चाहन्छु ।’
भारततर्फ चिया निर्यातमा एकाएक अवरोध आएपछि विगत तीन दिनयता इलामलगायत देशभरका चिया उद्योगीहरूले आफ्ना उद्योग तथा कारखाना पूर्ण रूपमा बन्द गरेका छन् ।