विराटनगर । परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि उत्तरी छिमेकी चीन प्रस्थान गर्दैछन्। चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा हुन लागेको भ्रमणलाई नेपाल–चीन सम्बन्धलाई नयाँ गति दिने अवसरका रूपमा हेरिएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, व्यापार, पूर्वाधार, लगानी, पर्यटन तथा विकास साझेदारीलगायत आपसी हितका विविध विषयमा विस्तृत छलफल हुने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा मन्त्री खनालले चीन सरकारका उच्चस्तरीय पदाधिकारीसँग शिष्टाचार भेटवार्ता पनि गर्नेछन्। यी भेटघाटमार्फत दुई देशबीचको राजनीतिक विश्वास र कूटनीतिक सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा पनि मन्त्री खनाल सहभागी हुनेछन्। सम्मेलनमार्फत नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्य राखिएको छ। सो अवसरमा उनले चिनियाँ उद्योगी तथा व्यवसायी समुदायसँग अन्तरक्रिया गर्दै ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रलगायत नेपालमा उपलब्ध लगानीका सम्भावना र अवसरबारे जानकारी गराउनेछन्।
त्यसैगरी, नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय गरिएको छ। यसलाई प्रवासमा रहेका नेपालीसँग सरकारको प्रत्यक्ष संवादका रूपमा समेत हेरिएको छ।
मन्त्री खनाल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उत्तर–पूर्वी महाशाखा प्रमुख भृगु ढुंगना, बेइजिङस्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाललगायतका उच्च अधिकारी सहभागी छन्।
नेपाल र चीनबीच पछिल्ला वर्षहरूमा आर्थिक तथा विकास सहकार्य विस्तार गर्ने प्रयास भइरहेका बेला हुन लागेको यो भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।