एजेन्सी । फिफा विश्वकप–२०२६ मा सर्वाधिक पाँच पटकको विजेता ब्राजिल बराबरीमा रोकिएको छ । न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न आइतबार बिहान भएको खेलमा समूह ‘सी’ को ब्राजिल मोरक्कोसँग १–१ को बराबरीमा रोकिएको हो ।
यो प्रतिस्पर्धात्मक खेलमा नतिजा बराबरी भए पनि प्रदर्शनका हिसाबले मोरक्कोले विश्व फुटबलका महाशक्ति ब्राजिललाई लामो समयसम्म दबाबमा राख्दै आफ्नो स्तर प्रमाणित गरेको छ ।
खेलको सुरुआतदेखि नै मोरक्कोले उच्च प्रेसिङ, तीव्र काउन्टर आक्रमण र सशक्त मिडफिल्ड नियन्त्रणमार्फत ब्राजिललाई सहज लयमा आउन दिएन ।
त्यसको प्रतिफलस्वरूप २१औँ मिनेटमा ब्राहिम डियाजको उत्कृष्ट पासमा इस्माइल सैबारीले गोल गर्दै अफ्रिकी टोलीलाई अग्रता दिलाए । सैबारीले ब्राजिलका गोलरक्षक एलिसनलाई बिट गर्दै विश्वकपको सबैभन्दा ठूलो अपसेटमध्ये एकको संकेत गरेका थिए ।
पछिल्ला केही वर्षयता व्यक्तिगत प्रतिभामा बढी निर्भर देखिँदै आएको ब्राजिललाई यस खेलमा पनि त्यही कुराले बचायो । ३२औँ मिनेटमा भिनिसियस जुनियरले बायाँ विंगबाट बल अघि बढाउँदै शानदार दायाँ खुट्टे प्रहारमार्फत बराबरी गोल गरे। मोरक्कोको मजबुत रक्षापंक्तिलाई चिर्दै आएको उक्त गोलले ब्राजिललाई खेलमा फर्काएको थियो ।
दोस्रो हाफमा प्रशिक्षक कार्लो एन्सेलोटीले टोलीलाई थप आक्रामक बनाउने प्रयास गरे पनि मोरक्कोको संगठित रक्षापंक्ति र गोलरक्षक यासिन बोनो लगातार मजबुत देखिए । ब्राजिलले केही राम्रा अवसर सिर्जना गरे पनि अन्तिम टचको अभावका कारण जित निकाल्न सकेन । उता मोरक्कोले पनि तीव्र काउन्टरमार्फत गोल गर्ने अवसर पाए पनि एलिसनले उत्कृष्ट बचाउ गर्दै टोलीलाई हारबाट जोगाए ।
यो खेलले मोरक्कोको २०२२ विश्वकपमा देखिएको सफलता कुनै संयोग नभएको सन्देश फेरि एकपटक दिएको छ । उत्कृष्ट टिम संरचना, अनुशासित रक्षापंक्ति र तीव्र ट्रान्जिसन फुटबलका कारण उनीहरूले ब्राजिलजस्तो पाँच पटकको विश्वविजेतालाई पनि सहज खेल्न दिएनन् । धेरै समय बल नियन्त्रण र मिडफिल्डको लडाइँमा समेत मोरक्को नै प्रभावशाली देखिएको विश्लेषण गरिएको छ ।
ब्राजिलका लागि भने बराबरीले केही प्रश्न पनि उठाएको छ । नयाँ प्रशिक्षक एन्सेलोटीको नेतृत्वमा टोलीले व्यक्तिगत क्षमताको झलक त देखायो, तर मिडफिल्डको समन्वय, रक्षात्मक संगठन र सामूहिक आक्रमणमा अझै सुधार आवश्यक देखियो । विशेषगरी नेयमारको अनुपस्थितिमा सिर्जनात्मक खेल निर्माण गर्ने जिम्मेवारी पूर्ण रूपमा भिनिसियस जुनियरमाथि निर्भर रहेको स्पष्ट देखियो ।
समूह ‘सी’ मा दुवै टोलीले पहिलो खेलबाट समान एक–एक अंक जोड्दै अभियान सुरु गरेका छन् । ब्राजिलले अब हाइटीसँग प्रतिस्पर्धा गर्नेछ भने मोरक्कोले स्कटल्यान्डविरुद्ध मैदान उत्रिनेछ । पहिलो खेलको प्रदर्शनलाई आधार मान्दा समूहको शीर्ष स्थानका लागि प्रतिस्पर्धा निकै रोमाञ्चक हुने संकेत देखिएको छ ।
मोरक्कोसँग बराबरी खेले पनि ब्राजिलले विश्वकपको पहिलो गेममा नहारेको आफ्नो रेकर्ड भने कायमै राखेको छ । विश्वकपमा सबैभन्दा धेरैपटक छनोट हुने, सबैभन्दा धेरै गेम जित्ने र सबैभन्दा धेरै गोल गर्ने रेकर्ड ब्राजिलसँग छ ।