विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट स्कुलले कक्षा–११ मा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा नयाँ विद्यार्थीहरूलाई शैक्षिक, व्यक्तिगत तथा व्यावसायिक भविष्य निर्माणका लागि आवश्यक मार्गदर्शन प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित उत्प्रेरक डा. ताराप्रसाद गिरीले विद्यार्थीहरूलाई लक्ष्य निर्धारण, आत्मअनुशासन र निरन्तर मेहनतको महत्वबारे जानकारी गराए। विभिन्न प्रेरणादायी प्रसङ्ग र विश्वका सफल व्यक्तित्वहरूको उदाहरण प्रस्तुत गर्दै उनले कक्षा ११ र १२ लाई उच्च शिक्षातर्फको महत्वपूर्ण आधारका रूपमा चित्रण गरे।
उनले विद्यार्थीहरूलाई आफ्नो भविष्यप्रति जिम्मेवार बन्न आग्रह गर्दै स्पष्ट लक्ष्यसहित दृढ संकल्प गरेर अघि बढे सफलता हासिल गर्न सकिने बताए। “विद्यार्थी केवल आफ्नो परिवारको सपना मात्र होइन, राष्ट्रको भविष्य पनि हुन्,” उनले भने, “आफ्नो क्षमता पहिचान गरी सही दिशामा मेहनत गरेमा हरेक विद्यार्थी सफल बन्न सक्छ।”
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्ट स्कुलले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै आवश्यक शैक्षिक वातावरण सिर्जना गरेको बताए। उनले विद्यार्थीहरूलाई अध्ययनका क्रममा कुनै समस्या वा आवश्यकताहरू भए विद्यालय प्रशासनसँग खुला रूपमा राख्न आग्रह गरे।
“तपाईंहरूको शैक्षिक विकासका लागि आवश्यक पर्ने जुनसुकै सहयोग गर्न विद्यालय तयार छ,” उनले भने, “तर त्यसका लागि विद्यालयको अनुशासन र नियमको पालना अनिवार्य छ।”
त्यसैगरी विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले कक्षा ११ र १२ को अध्ययनले विश्वविद्यालय तहको शैक्षिक यात्रालाई प्रभाव पार्ने भएकाले सुरुदेखि नै गम्भीरतापूर्वक अध्ययन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा एभरेष्ट कलेजकाको-अर्डिनेटर भुवन गौतमले विद्यार्थीहरूलाई कलेजको अनुशासन, आचारसंहिता, उपलब्ध सुविधा तथा अध्ययन प्रक्रियाबारे विस्तृत जानकारी गराएका थिए।
एभरेष्ट स्कुलमा विज्ञान, कम्प्युटर विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ र १२ को अध्यापन हुँदै आएको छ। साथै विद्यालयले यसै शैक्षिक सत्रदेखि बीआईटी (Bachelor in Information Technology) कार्यक्रम सञ्चालनको तयारीसमेत गरेको जनाएको छ।
विद्यालय प्रशासनका अनुसार अभिमुखीकरण कार्यक्रमले विद्यार्थीहरूलाई नयाँ शैक्षिक वातावरणसँग घुलमिल हुन, आफ्नो लक्ष्य निर्धारण गर्न तथा आगामी शैक्षिक यात्राका लागि आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।