विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीको महोत्तरी जिल्ला अधिवेशन आन्तरिक विवादका कारण अनिश्चितकालका लागि स्थगित गरिएको छ।
शनिबार जलेश्वरमा सुरु भएको अधिवेशनको दोस्रो दिनसम्म पनि दुई पक्षबीच सहमति जुट्न नसकेपछि अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको निर्वाचन संयोजक मनिषकुमार साहले जानकारी दिएका छन्।
उनका अनुसार विवाद समाधानका लागि विभिन्न चरणमा छलफल तथा समन्वय प्रयास गरिए पनि सहमति कायम हुन सकेन। जिल्लाका प्रतिनिधिहरूसँग परामर्श गरी अवस्थालाई मध्यनजर गर्दै अधिवेशन स्थगित गर्ने निर्णय गरिएको हो।
निर्वाचन संयोजक साहका अनुसार उक्त निर्णयमा रास्वपाका केन्द्रीय सदस्यहरू डा। नन्दन यादव र देवनारायण महतो, प्रतिनिधिसभा सदस्य प्रमोद महतो, निर्वाचन समिति सदस्य महेश पुर्वे तथा पूजा झा लगायतका नेताहरूको सहमति रहेको बताइएको छ।
अधिवेशन स्थगित भएसँगै महोत्तरीमा रास्वपाको नयाँ जिल्ला नेतृत्व चयन प्रक्रिया केही समयका लागि प्रभावित भएको छ।