विराटनगर । विश्व वातावरण दिवस २०८३ को अवसरमा अलायन्स युवा क्लबको आयोजना तथा बीभीएस प्लस टु र शान्ति बाल सदन विद्यालयको सहकार्यमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा भावी पुस्तालाई स्वच्छ र स्वस्थ वातावरण हस्तान्तरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षणमा सबैको साझा दायित्व रहेको सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रमका सहभागीहरूले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्न, प्रदूषण न्यूनीकरण गर्न तथा जलवायु परिवर्तनका असर कम गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए। साथै प्रत्येक नागरिकले वातावरण संरक्षणका लागि व्यक्तिगत रूपमा समेत योगदान गर्नुपर्नेमा जोड दिइएको थियो।
आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेको छ।
“आज रोपिएको एउटा बिरुवाले भोलिको हरियाली भविष्य सुनिश्चित गर्छ” भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले वातावरण संरक्षणप्रति समुदायमा सकारात्मक चेतना अभिवृद्धि गरेको विश्वास गरिएको छ। हराभरा, स्वच्छ र वातावरणमैत्री समाज निर्माणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
