विराटनगर ।विश्व वातावरण दिवसको अवसरमा बर्जु गाउँपालिका वडा नं.१ कार्यालयको आयोजनामा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
समृद्ध भविष्यको आधारः जलवायु तथा प्रकृति मैत्री भन्ने मूल नाराका साथ बर्जु गाउँपालिका वडा नं. १ कार्यालयको परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपेर दिवस सम्पन्न गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ कुमार राय रहेका थिए ।
त्यसैगरी,बर्जु शुक्रवारे प्रहरी चौकीका इन्चार्ज बाबुराम कार्की, वडा अध्यक्ष दिलबहादुर गुरुङ, वडा सचिव मिलन खतिवडा, वडा सदस्य अर्जुन यादवलगायत जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा वृक्षारोपणको महत्त्वबारे विस्तृत छलफल गरिएको थियो।
सहभागीहरूले विभिन्न प्रजातिका बिरुवाहरू रोप्दै वातावरण संरक्षणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
वृक्षारोपणमार्फत वातावरणीय सन्तुलन कायम राख्न, हरियाली विस्तार गर्न तथा भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।