काठमाडौं । प्रतिनिधिसभामा नियमावली संशोधनसम्बन्धी छलफलका क्रममा सदनमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। दफावार छलफल समितिमा नभई सदनमै गरिनुपर्ने कार्यसूचीअनुसार प्रक्रिया अघि बढाइएको भन्दै सभामुखले बैठक सञ्चालन गरेपछि विपक्षी दलहरूले विरोध जनाएका हुन्।
प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि ३५ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। सभामुखले ती संशोधनलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्न थालेपछि विपक्षी सांसदहरू आक्रोशित बनेका थिए।
विरोधस्वरूप विपक्षी सांसदहरू बैठक कक्षको वेलमा पुगेका थिए भने उनीहरूले नाराबाजीसमेत गरेका थिए। सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी सांसदहरूले प्रक्रियामाथि असन्तुष्टि जनाएका हुन्।
विवाद चर्किँदै जाँदा केही सांसदहरू सभामुखको आसन नजिकसम्म पुगेका थिए। विरोधका क्रममा कुर्सी उठाउनेलगायतका गतिविधिसमेत देखिएको थियो, जसका कारण संसद्को वातावरण तनावग्रस्त बनेको थियो।
संसद्मा देखिएको पछिल्लो घटनाक्रमले नियमावली संशोधन प्रक्रियालाई लिएर सत्ता पक्ष र विपक्षी दलबीचको मतभेद थप स्पष्ट भएको छ। दुवै पक्षबीच सहमति जुटाउने प्रयास भइरहे पनि संसद्को कार्यवाही भने अवरोधको छायामा परेको छ।