काठमाडौं । वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ९७ लाख ५८ हजार रुपैयाँ ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूमा रामबहादुर आलेमगर, आशिष कार्की, लोकबहादुर श्रेष्ठ, तुलसा पुनमगर, कृष्णप्रसाद पोखरेल र प्रवीण श्रेष्ठ रहेका छन्। प्रहरीका अनुसार रामबहादुर आलेमगरले क्यानडा पठाइदिने भन्दै ४ जनाबाट ३९ लाख ५८ हजार रुपैयाँ ठगी गरेका थिए भने आशिष कार्कीले न्युजिल्याण्ड पठाइदिने भन्दै ३ जनाबाट १३ लाख रुपैयाँ उठाएका थिए।
त्यसैगरी लोकबहादुर श्रेष्ठले बेलायतमा राम्रो कमाइ हुने प्रलोभनमा १ जनाबाट १९ लाख रुपैयाँ, तुलसा पुनमगरले अमेरिका पठाइदिने भन्दै १० लाख रुपैयाँ, कृष्णप्रसाद पोखरेलले दुबई पठाउने भन्दै १० लाख रुपैयाँ तथा प्रवीण श्रेष्ठले सर्बिया पठाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।