दुहबी ।सुनसरीको दुहबी नगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले १० वटा आधारभूत विद्यालयलाई कम्प्युटर तथा प्रिन्टर सेट वितरण गरेको छ।
नगरपालिकाअन्तर्गत सञ्चालित १० वटा आधारभूत विद्यालयलाई एक/एक थान कम्प्युटर र प्रिन्टर सेट प्रदान गरिएको हो। नगर प्रमुख वेद नारायण गच्छादारले विद्यार्थीहरूको शैक्षिक गुणस्तरलाई सूचना प्रविधिसँग जोड्दै आधुनिक र प्रविधिमैत्री शिक्षा प्रणाली विकास गर्ने लक्ष्यसहित सामग्री वितरण गरिएको बताएका छन्।
शिक्षा शाखाको समन्वयमा आयोजित कार्यक्रममा विद्यालयका प्रतिनिधिहरूलाई कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण गरिएको थियो। नगरपालिकाले पछिल्लो समय विद्यालयस्तरमै डिजिटल शिक्षालाई संस्थागत गर्ने अभियान अघि बढाएको जनाएको छ।
नगर प्रमुख गच्छादारले प्रविधिसँग जोडिएको शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै ग्रामीण तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई पनि आधुनिक शिक्षाको पहुँचमा ल्याउन नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले सूचना प्रविधिको प्रयोगले विद्यार्थीको सिकाइ क्षमता, खोजमूलक अध्ययन तथा व्यवहारिक ज्ञानमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
नगरपालिकाका अनुसार विद्यालय प्रशासनिक कामलाई व्यवस्थित गर्न, डिजिटल अभिलेखीकरण गर्न तथा विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गर्न यी सामग्री उपयोगी हुनेछन्।
दुहबी नगरपालिकाले आगामी दिनमा थप विद्यालयमा समेत डिजिटल सामग्री विस्तार गर्दै सूचना प्रविधिमैत्री शिक्षालाई प्रभावकारी बनाउने योजना अघि सारेको जनाएको छ।