माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीहरूलाई लक्षित् गर्दै बृहत् प्राविधिक तथा व्यावसायिक शिक्षा मेला तथा सीप प्रदर्शनी आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) कोशी प्रदेश कार्यालयको संयुक्त आयोजनामा आगामी जेठ २ र ३ गते विराटनगरमा मेला सञ्चालन हुने भएको हो ।
“सीप आजको आवश्यकता, भविष्यको सुनिश्चितता” भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त मेलाले विशेषगरी एसइइ दिएका विद्यार्थीहरूलाई भविष्यको अध्ययन, करिअर तथा सीपमूलक शिक्षाको सही मार्ग पहिचान गर्न महत्वपूर्ण सहयोग पुग्ने परिषदका वरिष्ठ प्राविधिक अधिकृत शिशिर सुब्बाले बताए ।
विराटनगर स्थित आदर्श माध्यामिक विद्यालय परिषरमा हुने मेलामा कोशी प्रदेशका १४ वटै जिल्लाका विद्यालयहरूका शिक्षक, विद्यार्थी अभिभावक तथा जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने वरिष्ठ प्राविधिक अधिकृृत सुब्बाले जानकारी दिए । उनका अनुशार विद्यार्थीहरूले मेलामा प्राविधिक तथा व्यावसायिक शिक्षाका विविध क्षेत्रबारे प्रत्यक्ष जानकारी प्राप्त गर्नुका साथै आफ्नो रुचि र क्षमता अनुसारको विषय छनोैट गर्न सहज हुने छ ।
मेलामा स्वास्थ्य, इन्जिनियरिङ, कृषि, सूचना प्रविधि तथा हस्पिटालिटीलगायतका विषयमा अध्ययनरत विद्यार्थीहरूले गर्ने प्रत्यक्ष सीप प्रदर्शनी हुनेछन् । प्रदर्शनीमार्फत प्रयोगात्मक कार्य, परियोजना तथा नवीनतम प्रविधिको अवलोकन गर्न सकिने छ । मेलामा ४० वटा शैक्षिक स्टल रहनेछन् ।
परिषद् अन्तर्गतका आङ्गिक शिक्षालय, टेक्स विद्यालय, साझेदारी शिक्षालय, सम्बन्धन प्राप्त निजी शिक्षण संस्था तथा विभिन्न तालिम प्रदायक निकायहरूले आफ्ना शैक्षिक कार्यक्रम, अध्ययन अवसर तथा प्रयोगात्मक गतिविधिहरू प्रस्तुत गर्नेछन् ।
“मेलामा विद्यार्थीहरूले एउटै स्थानबाट विभिन्न कलेज तथा अध्ययन कार्यक्रमबारे जानकारी लिन सक्नेछन्” परिषदका वरिष्ठ प्राविधिक अधिकृत सुब्बाले भने– “मेलामा करिअर काउन्सेलिङ तथा मार्गदर्शन कार्यक्रम पनि सञ्चालन हुने छन् भने विशेषज्ञ तथा प्रशिक्षकहरूले कुन विषय अध्ययन गर्दा भविष्यमा कस्ता अवसर प्राप्त हुन्छन्, कुन क्षेत्रमा रोजगारीको सम्भावना बढी छ तथा स्वदेश र विदेशमा उपलब्ध अवसरहरूबारे प्रत्यक्ष परामर्श पाउने छन् ।”
एसइई उत्तीर्ण गरेका विद्यार्थीहरूमा रहेको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्दै उनीहरूलाई श्रम बजारको मागअनुसार समयसापेक्ष सीप सिकाइमार्फत आत्मनिर्भर बनाउने तथा राष्ट्रको सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।
“आजको प्रतिस्पर्धात्मक समयमा केवल प्रमाणपत्र मात्र नभई व्यवहारिक सीप अत्यन्त आवश्यक भएकाले विद्यार्थीहरूलाई समयमै सही करिअर मार्गदर्शन प्रदान गर्न यो मेला महत्वपूर्ण अवसर बन्नेछ ।” परिषदका वरिष्ठ प्राविधिक अधिकृत सुब्बाले भने ।
मेलामा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री राम प्रसाद महतो, मन्त्रालयका सचिव, स्थानीय तहका जनप्रतिनिधि, रोजगारदाता संस्था तथा शिक्षा क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ ।