काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ।
उनकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो। अदालतले धरौटी वा जमानतमा छाड्न सकिने अवस्था हुँदाहुँदै थुनामा राखिएको भन्दै उक्त प्रक्रिया खारेज गर्ने निर्णय गरेको छ।
न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले अनुसन्धान अधिकारीले अनावश्यक रूपमा थुनामा राख्न अनुमति लिएको निष्कर्ष निकालेको हो।
व्यवसायी गोल्छा गत ११ वैशाखमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो द्वारा पक्राउ परेका थिए। उनलाई नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि हिरासतमा राखिएको थियो।
अदालतको आदेशसँगै अब उनलाई धरौटी वा जमानतमा रिहा गरिने प्रक्रिया अघि बढ्नेछ।